बिर्तामोड, मंसिर १२ । झापा जिल्लास्तरीय लिग तथा नकआउट फुटबलको उपाधि शनिश्चरे फुटबल क्लब अर्जुनधाराले जितेको छ ।
आज बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा छेमिकी क्लब मनास्लुलाई टाइब्रेकरमा हराउँदै शनिश्चरेले उपाधि रक्षा गरेको हो । उपाधिसँगै उसले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–२ गोल अन्तरले शनिश्चरे च्याम्पियन बनेको हो ।
यसअघि पहिलो हाफमा मनास्लुले १–० को अग्रता लिए पनि दोस्रो हाफमा शनिश्चरे खेलमा फर्किएको थियो । उपविजेता मनास्लुले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
खेलको १८ औँ मिनेटमा मनास्लुका रविन राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । शनिश्चरेका गोलकिप्परबाट फुत्किएको बललाई बाइसाइकल किक प्रहार गर्दै उनले उत्कृष्ट गोल गरेका थिए ।
त्यस्तै, खेलको ६२ औँ मिनेटमा मनस्लुका कप्तान सौगात गोम्देनको भली प्रहारले जाली चुम्दै खेल २–० मा पुगेको थियो । शनिश्चरेका गोलकिप्पर अघि बढेको मौकामा उनले भली प्रहार गरेका थिए ।
त्यसको एक मिनेटपछि २–० को अग्रतालाई शनिश्चरेले उल्टाउँदै खेलमा फर्कियो । ६३ औँ मिनेटमा शनिश्चरेका विशाल खवासले मनास्लुको डिफेन्स लाइनलाई छक्याउँदै गरेको सुन्दर प्रहार गोलमा परिणत भएको थियो ।
७४ औँ मिनेटमा थापाले अर्को एक गोल थप्दै खेल २–२ को बराबरीमा ल्याए । मनास्लुका गोलकिप्पर बिट भएको मौका सदुपयोग गर्दै प्रहार गरेको हेडरले जाली चुमेको थियो ।
प्रतियोगिताभरिको उत्कृष्ट खेलाडी मनास्लुका सौगात गोम्देन भए । त्यस्तै, बेस्ट डिफेन्स मनास्लुका रुजेन न्यौपाने, बेस्ट मिडफिल्ड शनिश्चरेका पुष्प मादेन, बेस्ट फरवार्ड मनास्लुका रोविन राई र उत्कृृष्ट गोलकिप्पर शनिश्चरेका अनुप गोले घोषित भए । उनीहरुले नगद चारचार हजार, ट्रफी र प्रमाणपत्र पाए ।
विजेता तथा उपविजेतालाई प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, मुख्य प्रायोजक सिजी ब्रुअरीका प्रतिनिधि अनुज भट्टराई, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेल, प्रतियोगिता आयोजक झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामालगायतले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा जिल्लाका आठवटा टिमको सहभागिता रहेको थियो ।