
बिर्तामोड, मंसिर १४ । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंलाल घिसिङलाई नियुक्त गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो ।
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले सदस्य सचिवका लागि नेपाल रग्बी संघका अध्यक्ष टंलाल घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषदमा पेस गरेका थिए ।
मन्त्रालयले गठन गरेको सदस्य सचिव सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको थियो । आइतबार साँझ सिफारिस समितिले माओवादीको बागमती प्रदेश कमिटी सदस्य घिसिङसहित तीनजनाको नाम मन्त्रालयलाई सिफारिस गरेको थियो ।
सदस्य सचिव बन्न निवेदन दिएका १८ जनासँग अन्तरवार्ता र कार्ययोजनाको प्रस्तुति सकेर समितिले एक महिलासहित तीनजनाको नाम तयार गरेको थियो ।
राष्ट्रिय खेलकुद विकास ऐनले सिफारिस समितिले एक महिलासहित तीनजनाको नाम मन्त्रालयमा सिफारिस गर्नुपर्ने प्रावधान राखेको छ ।
सरकारले कात्तिक १ गते तत्कालिन राखेप सदस्य सचिव रमेशकुमाल सिलवाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयविरुद्ध रमेशकुमार सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सरकारले राखेपको रिक्त रहेको सदस्य सचिव पदमा खेलकुद ऐन अनुसार नयाँ नियुक्ति गरेको हो ।