२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

लाल भागिरथा प्रतिष्ठानद्वारा तीन प्रतिभालाई पुरस्कार दिने निर्णय


बिर्तामोड, मंसिर १८ । झापाको लाल भागिरथा बानियाँ प्रतिष्ठानले यसवर्ष चिकित्सा, कृषि र गृहिणी क्षेत्रमा विशिष्ट योगदान पुर्याएका झापाका तीनजना प्रतिभालाई पुरस्कार दिने निर्णय गरेको छ ।

प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सहप्राध्यापक एवम् प्रसिद्ध न्युरो सर्जन डा. गोपाल सेडाईं, मेचीनगर–३ बाहुनडाँगीका व्यावसायिक कृषक प्रधान किसान र मेचीनगर–७ गोमनसरीकी गृहिणी ज्ञानु खड्कालाई पुरस्कृत गर्ने भएको हो ।

प्रतिष्ठानको प्रतिभा छनोट समितिको बैठकले उनीहरुलाई पुरस्कार दिने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष एवम् छनोट उपसमितिका संयोजक हरिचरण बानियाँले जानकारी दिए ।

दुई वर्षअघि शिक्षासेवी हरिचरण बानियाँ र उनका दाजुभाइहरुको संयुक्त पहलमा स्वर्गबासी मातापिताको स्मृतिमा लाल भागिरथा बानियाँ प्रतिष्ठान स्थापना गरिएको थियो । संस्थाले समाजमा विशिष्ट योगदान पुर्याएका प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले १० लाख रुपैयाँको सुरुवाती अक्षय कोष खडा गरेको छ ।

कोषको ब्याज रकमबाट हरेक वर्ष तीनजना प्रतिभालाई जनही ३१ हजार नगद पुरस्कार र सम्मानपत्रसहितको उत्कृष्ट पुरस्कार दिने गरिएको छ ।

उत्कृष्ट प्रतिभा पुरस्कार डा. सेडाईंलाई

यसवर्षको उत्कृष्ट प्रतिभा पुरस्कार डा. गोपाल सेडाईलाई प्रदान गरिने भएको हो । डा. सेडार्इं झापाको मेचीनगर ११ निवासी प्रसिद्ध न्युरो सर्जन चिकित्सक हुने । उनले हेमोफिलिया भएका बिरामीको मस्तिष्कघातको नेपालमै पहिलोपटक सफल शल्यक्रिया गरेका थिए । उनले भारतको नयाँ दिल्लीस्थित एम्सबाट एमएस एमसिएच डिग्री हासिल गरेका हुन् ।

उनी हाल त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा सहप्राध्यापक छन भने ग्रान्डी इन्टरनेसनल हस्पिटल लगायतका अस्पतालमा समेत उपचार सेवा प्रदान गर्छन् । आइएस्सी अध्ययनका क्रममा उनले सिद्धार्थ बनस्थलीबाट नेपाल प्रथम स्थान हासिल गरेका थिए । उनका ६० भन्दा बढी शोधहरु अमेरिका, चीन, कोरिया, जापान लगायतका मुलुकका जर्नलमा प्रकाशित भइसकेका छन् ।

उत्कृष्ट कृषि पुरस्कार प्रधान किसानलाई

यसवर्षको उत्कृष्ट कृषि पुरस्कार मेचीनगर–३ बाहुनडाँगीको दोकानडाँडा निवासी ५६ वर्षीय प्रधान किसानलाई प्रदान गरिने भएको छ ।
उनी नेपालकै लोपोन्मुख एवम् झापामा मात्र पाइने किसान समुदायका अगुवा हुन् । नेपालमा आदिवासी वर्गमा पर्ने किसान समुदायको जनसंख्या पाँच सयको हाराहारीमा रहेको मानिएको छ । उनी किसान समुदायमा छोराछोरीलाई शिक्षादीक्षा दिनुपर्छ र परम्परागत निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाएर आर्थिक उन्नतिको खुड्किलो उक्लिनुपर्छ भन्ने मान्यता राख्छन् ।

उनकी जेठी छोरी रेणुका किसान आफ्नो समुदायमा एसएलसी उत्तीर्ण गर्ने प्रथम महिला हुन् । अधियाँ र ठेक्का जग्गा कमाउँदै व्यावसायिक एवम् अग्र्यानिक तरकारी खेतीबाट आर्थिक समृद्धि हासिल गरेको उनको संघर्षशील एवम् उदाहरणीय कर्मलाई पुरस्कृत गरिएको हो ।

उत्कृष्ट गृहिणी पुरस्कार ज्ञानु खड्कालाई

मेचीनगर–७ मा ८६ वर्षीया सासू रत्नमाया र ९४ वर्षीय ससुरा मानबहादुर खड्काको स्याहार र पारिवारिक व्यवस्थापनमा असल बुहारीको रुपमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुकी ३७ वर्षीया बुहारी ज्ञानु खड्कालाई यस वर्षको उत्कृष्ट गृहिणी पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

बुहारी ज्ञानु खड्काले बुढ्यौली र अनेक रोगले थलिएकी सासू र प्रोस्टेटको शल्यक्रियापश्चात पिसाबको थैली शरीर बाहिर बोकेर हिँड्नु पर्ने अवस्थाका ससुराको नियमित स्वास्थ्य हेरचाह र पालनपोषणमा कुनै गुनासो आउन नदिई सेवा गरिरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer