२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

साफ यु–१९ महिला फुटबलः पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध खेल्दै


बिर्तामोड, मंसिर २४ । भोलि शनिबारबाट बंगलादेशमा सुरु हुने दोस्रो संस्करणको साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले बंगलादेशविरुद्ध खेल्दैछ ।

नेपालका लागि बंगलादेशविरुद्धको खेल बदला लिने एक मौकाको रुपमा रहनेछ । किनभने पहिलो संस्करणमा बंगलादेशविरुद्ध पराजित भएपछि नै नेपालले उपविजेतामा चित्त बुझाउनु परेको थियो ।

फाइनलमा नेपाललाई १–० ले पराजित गर्दै बंगालदेशले पहिलो संस्करणको उपाधि जितेको थियो । बंगलादेशले नेपाललाई समूह चरणमा पनि २–१ ले पराजित गरेको थियो ।

उपाधिसँगै यसपटक नेपालको लक्ष्य पनि बंगलादेश र भारतलाई पराजित गर्नु रहेको छ । बंगलादेश प्रस्थान गर्नुअघि नै नेपाली टिमका कप्तान अन्जना राना मगरले टिमको मुख्य लक्ष्य उपाधिसँगै भारत र बंगलादेशलाई हराउनु रहेको बताएकी थिइन् ।

मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले यसपटक उपाधि जितेर आउने बताएका थिए । राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ ।

आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् । राउन्ड रोविनको खेलपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछ ।

नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर १५ मा खेल्नेछ । नेपालको तेस्रो खेल भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा रहेको छ ।

शीर्ष दुई टोलीबीचको फाइनल खेल डिसेम्बर २१ मा हुनेछ । यसअघि सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करण यु–१८ टिमबीच भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer