२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त


बिर्तामोड, मंसिर २५ । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त भएका छन् । गत असोजमा अस्ट्रेलियन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त भएको पदमा नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुलाई नियुक्त गरेको औपचारिक रुपमा जानकारी दिएको छ ।

क्यानले पुबुदुसँग अवधि सम्झौता गरेको छैन । क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लका अनुसार क्यानले पुबुदसँग दुई वर्षको सम्झौता गर्ने तयारी गरेको छ । पुबुदुको पारिश्रमिक झन्डै १२ हजार डलर रहेको बुझिएको छ । क्यानले मुख्य प्रशिक्षकको लागि खुला आवेदन मागेको थियो । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ६० प्रशिक्षकले आवेदन दिएका थिए । क्यानले उत्कृष्ट १५ जनाको अन्तरवार्ता लिएको थियो ।

क्यानको पहिलो रोजाईमा भारतीय मोन्टी देशाई थिए । तर देशाईसँग सहमति हुन नसकेपछि पुबुदुलाई नियुक्त गरेको हो । मोन्टीले इन्डियन प्रिमियर लिग (आइपिएल) हेर्ने मनासय बनाएको कारण धेरै समय छुट्टी मागेका थिए । अर्कोतर्फ पुबुदु नेपाली खेलाडीसँग राम्रोसँग घुलमिल र जानकार हुँदा पनि उनलाई ल्याउने निर्णय गरेको हो ।

श्रीलंका क्रिकेट टोलीका पूर्वखेलाडी समेत रहेका पुबुदु दसानायके नेपाललाई पहिलो पटक टि२० विश्वकप खेलाउने प्रशिक्षक हुन् । पुबुदुलाई नेपाली क्रिकेटका सर्वाधिक सफल प्रशिक्षक समेत भन्ने गरिन्छ । सन् २०११ देखि २०१५ सम्म पुबुदुको प्रशिक्षकमा नेपालले क्रान्तिकारी परिवर्तन गरेको थियो । सन् २०१४ मा नेपालले पहिलो पटक टि२० विश्वकप खेलेको थियो ।

पुबुदुको प्रशिक्षकमा नेपालले डिभिजन ४ देखि ३ सम्म उपाधि जितेको थियो । गत असोजमा भएको एभरेस्ट प्रिमियर लिगमा पुबुदुले भैरहवा ग्ल्याडियटर्सको प्रशिक्षणको रुपमा काम गरेका थिए । २०१५ मा नेपाली क्रिकेटको आन्तरिक किचलोको कारण पुबुदुले प्रशिक्षण छाडेर अमेरिका गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer