२०८१ मंसिर १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

हिमालयन शेर्पालाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा


बिर्तामोड, मंसिर २५ । साविक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ती मगरले एकएक गोल गरे ।

सुरुआतबाटै आक्रामक खेल पस्किएको मछिन्द्रका नुर्लान नोभ्रुजोभले ११ औँ मिनेटमा प्रहार गरेको बल क्रस बारमा लागेर बाहिरिँदा अग्रता बनाउन चुकेको थियो । डिफेन्डर रंजित धिमालको लामो पासमा नुर्लानले पेनाल्टी एरियाबाट प्रहार गरेका थिए ।

२२ औँ मिनेटमा पेनाल्टी एरियाको ठिक बाहिरबाट मछिन्द्रका सुनिल बलको फ्रिकिक हिमालयनका गोलकिपर दीप कार्कीले पन्च गर्दै बाहिर पठाए ।

तर, खेलको २९ औँ मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । सेट पिसमा गोल निकाल्ने क्रममा सुनिलले नुरेन करिमको फ्रिकिकमा हिमालयनका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा रन बनाएर गोल गरेका हुन् ।

खेलको ३३ औँ मिनेटमा मनिष डाँगीको क्रसमा मछिन्द्रका सुनिल ट्याप इन गर्न असफल भए । ४७ औँ मिनेटमा हिमालयनका सुरेश कुमालको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले मुस्किलले जोगाएपछि हिमालयन बराबरी गर्न चुकेको थियो ।

खेलको ६८ औँ मिनेटमा नुर्लानले गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए । विशाल राईको कर्नरमा हिमालयनका सुरेश कुमाललाई लाग्दै आएको बलमा सिक्स यार्ड बक्समा रहेका नुर्लानले पोस्टको जाली चुमाए ।

त्यसपछि खेलको इन्जुरी समयमा विमलले गोल गर्दै मछिन्द्रलाई ३–० को जित दिलाए । दोस्रो हाफमा मैदान प्रवेश गरेका विमलले आन्द्रेस नियाको पासलाई सदुपयोग गरे ।

खेलमा मछिन्द्रका छिरिङ गुरुङ म्यान अफ दि म्याच चुनिए । हिमालयनका उमेश राईले इमर्जिङ प्लेयर प्लेयरको अवार्ड जिते ।
जितसँगै अपराजित रहेको मछिन्द्र ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको हो । समान १० अंक नै रहे पनि गोल अन्तरमा मछिन्द्र अघि रहेको छ । दोस्रो स्थानको अपराजित मनाङको पनि १० अंक नै रहेको छ । पराजित हिमालयन शेर्पा ४ खेलबाट २ अंक जोडेर ११ औँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer