बिर्तामोड, पुस ४ । धनगढीमा जारी प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा प्रदेश १ र लुम्बिनी प्रदेश लगातार दोस्रो जितका साथ सेमिफाइनलमा पुगेका छन् । लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै तथा प्रदेश १ ले बागमती प्रदेशलाई ५५ रनले हराउँदै समूह ए बाट सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।
आइतबार भएको पहिलो खेलमा कर्णालीमाथि लुम्बिनीले सहज जित हात पार्यो । हुस्सुको कारण पहिलो खेल ६–६ ओभरमा झारिएको थियो । कर्णालीले निर्धारित ६ ओभरमा ३ विकेट गुमाउँदै १७ रन बनायो । कर्णालीकी कप्तान आयुशा टन्डनले १६ बलमा ७ रन बनाइन् । दीक्षा पुरी ११ बलमा ७ रनमा अविजित रहिन् । लुम्बिनी प्रदेशकी सुस्मिता भुषालले २ ओभरमा १ मेडन सहित ३ रन खर्चेर २ विकेट लिइन् । नेरी थापाले एक विकेट लिइन् ।
१८ रनको लक्ष्य लुम्बिनीले ३.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । ओपनर लक्ष्मी चौधरी ९ बलमा १ चौकासहित १२ रनमा अविजित रहिन् । नेरी थापा ५ रनमा अविजित रहिन् । फाप्लामा भएको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १४ रन बनायो ।
प्रदेश १ की अप्सरी बेगमले ६१ बलमा २ चौकासहित सर्वाधिक ५१ रनमा अविजित रहिन् । स्मृति कटवालले २० र सबनम राईले १५ रन जोडिन् । कप्तान रुविना क्षेत्री १ र ओपनर काजल श्रेष्ठ शून्यमा आउट हुँदा अप्सरी बेगम र स्मृति कटवालले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए । बागमती प्रदेशकी तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिइन् । स्पिनर खुशी डंगोलले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् ।
१ सय १५ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५९ रन मात्र बनाउन सक्यो । बागमतीकी सुमन खतिवडाले २३ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २१ रन बनाइन् । अश्मिना कर्माचार्यले १० रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीका पाँच खेलाडी रन आउट भएका थिए । रुविना क्षेत्री, ज्योति दनुवार र अलिसा खडियाले १–१ विकेट लिए ।
पहिलो खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १ सय ६० रनको फराकिलो अन्तरले हराएको थियो । लुम्बिनी प्रदेशले पहिलो खेलमा बागमती प्रदेशलाई ७ विकेटले हराएको थियो । प्रदेश १ समूह ए बाट २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । लुम्बिनी प्रदेश २ खेलबाट ४ अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ ।
कर्णाली र बागमती एक खेल अगावै बाहिरिएका छन् । मंगलबार प्रदेश १ र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलबाट समूह ए को विजेता र उपविजेता निर्धारण हुनेछ । त्यसैदिन बागमती र कर्णालीले अन्तिम खेल खेल्नेछन् । सोमबार समूह बी का खेलहरु हुनेछन् । पहिलो खेलमा नेपाल एपिएफ क्लब र प्रदेश २ तथा दोस्रो खेलमा सुदूरपश्चिम र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । दुबै समूह शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । सेमिफाइनल पुष १० र फाइनल ११ गते हुनेछ ।