२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

साफ यु–१९ महिला फुटबलः भारतसँग नेपाल पराजित


बिर्तामोड, पुस ४ । बंगलादेशमा जारी साफ यु–१९ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।

ढाकास्थित सहिद सिपाही मुस्तफा कमल स्टेडियममा आइतबार सम्पन्न खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो । जितसँगै भारत फाइनमा प्रवेश गरेको छ ।

पहिलो हाफमा रक्षात्मक भएर खेले पनि दोस्रो हाफमा नेपालले कमजोर डिफेन्स खेल्दा गोल खाएको हो । भारतका लागि प्रियंकादेवी नाओरेमले गरेको गोल नै निर्णायक भयो ।

पहिलो हाफमा दुवै टोलीले केही मौका बनाए पनि गोल भने गर्न सकेनन् । खेलको ६७औँ मिनेटमा भारतले नेपालको कमजोर डिफेन्सको फाइदा उठायो । सुमति कुमारीले ५ यार्डबाट नेपाली डिफेन्डर विमला विश्वकर्मालाई छक्याउँदै दिएको पासलाई ओभर रनमा अनमार्क रहेकी प्रियंकाले गरेको प्रहार नेपाली गोलरक्षक अन्जना रानामगरको हातै नजिकबाट पोस्टभित्र छिर्यो ।

त्यसपछि नेपालले खेलमा फर्किने कोसिस गरे पनि सफल हुन सकेन र सजिलै फाइनल पुग्ने अवसर गुमायो । नेपालले अब फाइनल पुग्न बंगलादेश र श्रीलंकाबीचको खेलको नतिजा प्रतीक्षा गर्नुपर्छ । आजै हुने यो खेलमा बंगलादेश पराजित भए नेपाल फाइनल पुग्न सक्नेछ । तर, त्यो अवस्थामा गोलअन्तर हेर्नुपर्ने हुन्छ । बंगलादेश साविक विजेता र नेपाल साविक उपविजेता हो ।

५ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालले अघिल्ला ३ खेलमा २ जित र १ बराबरी खेलेको थियो । नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । जित निकालेको भारतको ३ जित र १ हारसहित ९ अंक छ । भारत शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालसँग समान अंक भए पनि गोलअन्तरमा पछि रहेको आयोजक बंगलादेश तेस्रो स्थानमा छ । बंगलादेशसँग गोलरहित बराबरी खेल्दै च्याम्पियनसिपको सुरुआत गरेको नेपालले नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६–० र तेस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो । सुरुवाती दुई खेलमा श्रीलंका र भुटानलाई हराएको भारत बंगलादेशसँग पराजित भएको थियो ।

राउन्ड रोबिनपछि शीर्ष २ टोलीले पुस ७ गते उपाधिका लागि खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer