२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

खेलाडी र क्यान विवादः सिप्यानद्वारा कारबाही फिर्ता लिन दबाब


बिर्तामोड, पुस ५ । नेपाल क्रिकेट संघ (क्यान) र पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित केही राष्ट्रिय खेलाडीहीबीचको विवादमा क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) को प्रवेश भएको छ ।

सिप्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै क्यान र खेलाडीहरुबीचको विवादमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घुमाउँरो पारामा क्यानलाई खेलाडीहरुमाथिको कारबाही फिर्ता लिन दबाब दिएको छ ।

सिप्यानका अध्यक्ष मनिषराज पाण्डे र राष्ट्रिय टोलीका पूर्वकप्तान एवम् महासचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा खेलाडीको योगदानकै कारण नेपाली क्रिकेटले विश्व क्रिकेटमा विशेष पहिचान बनाउन सफल भएको उल्लेख गर्दै खेलाडीमाथिको कारबाही गलत भएको जनाइएको छ ।

‘खेलाडीले आफ्ना भावना र आवाजहरु राख्न खोज्दा ती मागको उचित सम्बोधन गर्नुको साटो खेलाडीहरुमाथि नै गरिएका कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको छ,’ सिप्यानले गत वर्ष क्यान तथा राष्ट्रिय खेलकुद परिषद्लाई वर्गीकरणसम्बन्धी सुझाव दिएको र त्यो सुझाव अहिले पनि सान्दर्भिक रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘वर्गीकरणजस्तो महत्वपूर्ण विषयवस्तुलाई पारदर्शी रुपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गर्दै तर्कसम्मत र त्रुटिरहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवस्यकता दोहोर्याउन जरुरी देखिन्छ ।’

क्यानले गरेको खेलाडी वर्गीकरणमाथि असहमति जनाएका कारण कप्तान ज्ञानेन्द्र र उपकप्तान दिपेन्द्रसिंह ऐरीसहित राष्ट्रिय टोलीका मुख्य खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीमाथि बुधबार अनुशासनको कारबाही गरेको थियो ।

कारवाहीस्वरुप ज्ञानेन्द्रलाई कप्तान तथा दिपेन्द्रसिंहलाई उपकप्तानको जिम्मेवारीबाट हटाइएको थियो । क्यान नेतृत्वले ज्ञानेन्द्रको स्थानमा सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको थियो ।

साथै, कारबाहीमा परेका खेलाडीलाई सन् २०२२ को पहिलो ६ महिनासम्म सेन्ट्रल कन्ट्रयाक्टमा समावेश नगर्ने उल्लेख गरिएको थियो ।

कारबाहीमा परेका खेलाडीको पक्षमा बिहीबार राष्ट्रिय टोलीका अन्य केही खेलाडीले साथ दिँदै आफूहरु पनि राष्ट्रिय टोलीबाट नखेल्ने आसयसहित सामाजिक सञ्जालमा ‘आइ एम डन टु’ लेख्दै आन्दोलन सुरु गरेका थिए ।

तर, राष्ट्रिय टोलीका खेलाडीहरु पछिल्लो विवादमा दुई पक्षमा विभाजित भएर प्रस्तुत हुन थालेपछि शुक्रबार कारबाहीमा परेका चार खेलाडीले पत्रकार सम्मेलन गर्दै आफूहरुमाथिको कारबाहीको निर्णयमा पुनर्विचार गर्न क्यानलाई आह्वान गरेका थिए ।
-खेलाडीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer