बिर्तामोड, पुस ९ । तीनपटकको विश्व विजेता तथा ब्राजिलियन फुटबल लेजेन्ड पेले अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । बिहीबार उनी साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका हुन् ।
विगत दुई साताअघि पेटको ट्युमरको नियमित उपचारका लागि उनी अस्पताल भर्ना भएका थिए । ८१ वर्षीय पेले परिवारसँग क्रिसमस मनाउन भन्दै उनले अस्पतालबाट डिस्चार्ज लिएको बताइएको छ । घरमै रहे पनि उनी पूर्ण रुपमा चिकित्सको निगरानीमा नै रहने छन् ।
यसअघि उनी गत अगस्टको अन्त्यतिर अस्पताल भर्ना भई डिस्चार्ज भएका थिए । त्यसबेला पेलेको दाहिने पेटको शल्यक्रियापछि छोटो समयका लागि सघन उपचार कक्षमा राखिएको थियो । त्यसयता, उनी निरन्तर फलोअपको लागि अस्पताल गइरहेका छन् ।
पेलेले सन् १९५८, १९६२ र १९७० गरी तीनपटक विश्वकपको उपाधि दिलाएका थिए । उनले ब्राजिलका लागि ९१ खेलमा ७७ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले व्यावसायिक खेल करियरमा १२ सय भन्दा बढी गोल गरेको बताइएको छ ।