बिर्तामोड, पुस १० । आयोजक बिर्तामोड फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै पाहुना टोली रोयल स्पोर्टिङ क्लब दमक तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलको टाइब्रेकरमा दमक ४–२ ले विजयी भयो ।
खेल अवधिभर दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । पहिलो हाफमा दुई टोलीले सामान्य खेल खेले पनि दोस्रो हाफमा आयोजक केही आक्रामक देखिएको थियो ।
भर्खरै बंगलादेशमा सम्पन्न यु१९ साफ महिला फुटबल खेलेकी कुसुम खतिवडा खसै चल्न नसक्दा आयोजकले गोल गर्ने अवसर गुमायो । खेलको १० औँ मिनेटमा कुसुमको क्रस दमककी गोलरक्षक सजिया छेत्रीले बचाइन् ।
त्यस्तै, खेलको १५ औँ मिनेटमा दमककी पार्वती राईको प्रहार बिर्तामोडकी गोलरक्षक झरना नगरकोटीले सेफ गरिन् । ३९ औँ मिनेटमा दमककी ममता राउतको प्रहार गोलपोस्ट नजिकबाट बाहिरियो ।
खेलको प्लेयर अफ द म्याच दमककी गोलरक्षक सजिया भइन् । उनलाई आयोजक बिर्तामोड फुटबल क्लबका अध्यक्ष डिके गुरुङले नगद प्रदान गरे ।
दोस्रो संस्करणको प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।