२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

तमु ल्होसार गोल्डकपः पाँचथर फाइनल प्रवेश


बिर्तामोड, पुस १३ । पाँचथरको श्री सिंह सिद्धदेवी ङोलो क्लब तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

अब पाँचथरले फाइनल प्रतिस्पर्धा धरान महिला फुटबल क्लबसँग गर्नेछ । धरानले दमकलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा पाँचथरले मोरङको पथरी शनिश्चरे महिला एफसीलाई २–० को गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो ।

खेलको ३६ औँ मिनेटमा पाँचथरकी प्रिया कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । पथरीकी सरिता राईले पाँचथरकी अनिता लिम्बूलाई पेनाल्टी एरियाभित्र लडाएपछि पाएको फ्रिकिकमा कार्कीले गोल गरिन् ।

त्यस्तै, खेलको ४२ औँ मिनेटमा मनिता लिम्बूले टिमका लागि दोस्रो गोल गरिन् । उनले गरेको गोल नै जीतका लागि निर्णायक बन्यो ।
खेलको पहिला हाफमा पथरी हावी देखिए पनि दोस्रो हाफमा पाँचथर खेलमा फर्किएको थियो ।

खेलको प्लेयर अफ द म्याच पाँचथरकी अनिता लिम्बू भइन् । उनलाई आयोजक बिर्तामोड फुटबल क्लबका अध्यक्ष डिके गुरुङले नगद प्रदान गरे ।

दोस्रो संस्करणको प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । फाइनल खेल पुस १५ गते तमु ल्होसारको दिन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer