२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कप्तानबाट हटाउँदा दु:ख लाग्यो : ज्ञानेन्द्र मल्ल


बिर्तामोड, पुस २० । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले विभिन्न कारण देखाएर आफूलाई कप्तानबाट हटाउदा दुःख लागेको बताएका छन् ।

टियु क्रिकेट मैदानमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै मल्लले विभिन्न आरोपहरु लगाएर हटाउँदा दुःख लागेको बताएका हुन् ।

’अलिकति दुःख लाग्यो । जुन यत्रो वर्ष क्रिकेटलाई दिइयो । र, बिनाकारण विभिन्न कुराहरु निकालेर गर्नुभयो । त्यसले अलिकति गाह्रो भएको थियो,’ कप्तानबाट हटेपछि पहिलोपटक बोलेका मल्लले भने, ’किनभने कहिले पनि बोर्डको विरुद्धमा जाने, बोर्डलाई निच बनाउने कहिले गरेको होइन । गर्ने भएको भए हामी अरु बाटो अपनाउने थियौँ होला । जान्थ्यौँ होला, खेल्दैनौँ थियौँ होला । तर, यत्रो वर्षबाट केही नहुँदा पनि खेल्यौँ । अरुअरु आरोपले गर्दा दुःख लाग्यो ।’

क्यानले गत महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान चयन गरेको थियो । क्यानले कप्तान मल्लसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई समेत जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो ।

मल्लले आफू सधैँ कप्तान बन्न नआएको समेत बताए । उनले आफू सधैँ देशको लागि र आफ्नो लागि खेल्ने बताए ।

’आत्मसम्मानको कुराले गर्दा मलाई अप्ठ्यारो परेको थियो । म सधैँभरिको लागि कप्तान हुन आएको पनि हैन । र, हुनुपर्छ भने पनि हैन । म देशको लागि खेल्छु मेरो लागि खेल्छु,’ मल्लले भने ।

मल्लले वर्गीकरणकै कारण क्यान र खेलाडीबीच समस्या उत्पन्न भएको बताए ।
’विवाद वर्गीकरणको कुराबाट नै सुरु भएको थियो । हामी चाहन्थ्यौँ कि बसेर कुरा गरौँ । पछिल्लो समय पनि यस्तै भएको थियो । विभिन्न कारण त्यो हुन सकेन । केही कारणले मिडिया पुग्ने नियन्त्रण भन्दा बाहिर भयो । तर, हामी के चाहन्थ्यो भने उहाँहरु आएर टेबल टल्क गरेर यसलाई समाधान गरौँ,’ मल्लले भने, ’किनकि वर्गीकरणको विषयमा ढिलो भइसकेको थियो । मापदण्डको विषयमा हामीलाई जानकारी थिएन । यसपटक सबैलाई समावेश गरौँ, छुटेका खेलाडीलाई पनि जाऔँ भन्ने थियो विभिन्न कारणले हुन सकेन । हामी यो विषय बाहिर भन्दा पनि भित्र बसेर सल्टाउन चाहिरहेका थियौँ ।’

मल्लले खेलाडीको असन्तुष्टिलाई विवाद बनाइएको समेत बताए ।

’विवाद समाप्त भएर हामी सबै यहाँ छौँ । विवाद भन्दा पनि एउटा असन्तुष्टि हो । बनाइयो, जस्तो भयो । अब खेलमा केन्द्रित हुनु पर्छ,’ उनले भने ।

तर, मल्लले सबै कुराहरु बाहिर राखेर नेपाली क्रिकेट अघि बढाउन एक जुट भएको समेत बताए ।

’आफ्नो कुराहरु, इगोहरु बाहिर राखेर नेपाल क्रिकेटको भविष्यको लागि र हामी सबैको लागि, महत्वपूर्ण प्रतियोगिता आउँदैछ त्यसको लागि पनि एक ठाउँमा बस्नु पर्छ भनेर हामीले नै क्रिकेट अगाडि बढाउनपर्छ’ उनले थपे, ’जे भयो भयो अबको दिनमा हाम्रो लक्ष्य भनेको अगाडि बढ्ने नै हो ।’

यस्तै मल्लले टिमका खेलाडीबीच कुनै मनमुटाव नभएको बताए ।

’मलाई लाग्दैन कि हामी एक अर्कासँग दुश्मनी लिएको । हामी खेलाडीहरु कोही १० वर्षबाट सँगै खेलेका छौँ । कोही भर्खर खेलिरहेका छौँ । घरेलु सँगै खेलेका छौँ,’ उनले भने, ’त्यस्तो मनमुटाव छ जस्तो लाग्दैन । भएको भए सायद यहाँ कोही हुँदैन थियो होला ।’

-खेलपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer