बिर्तामोड, पुस २० । सशस्त्र प्रहरी बल नेपालको एक टोलीले झापाको भारतीय सीमावर्ती क्षेत्रबाट लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
आज झापाको कचनकवल गाउँपालिका वडा नम्बर ५ स्थित दलेगाउँ सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाअन्तर्गत बिओपी पाठामारीबाट खटिएको सशस्त्र प्रहरीको चेकप्वाइन्ट टोलीले उनीहरुलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकामा कचनकवल ७ का २४ वर्षीय विनोद बस्नेत र सोही वडाका १८ वर्षीय निखिल रेग्मी रहेको नम्बर २ गण हेडक्वार्टर झापा सूचना अधिकृत प्रेमबहादुर भण्डारीले जानकारी दिए ।
उनीहरुको साथबाट ५.५ ग्राम ब्राउन सुगर फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुमाथि शंका लागि जाँच गर्दा ब्राउन सुगर फेला परेको थियो । आवश्यक कारबाहीका लागि दुवैलाई प्रहरी चौकी पाठामारीमा बुझाएको छ ।