२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एन्फाको कार्यसमिति बैठक आज बस्दै


बिर्तामोड, पुस २२ । अखिल नेपाल फुटबल संघ (एन्फा) को १५ औँ कार्यसमिति बैठक आज बिहीबार बस्दैछ ।

एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमिति बैठक डाकेको हो । बैठक अपरान्ह १२ः३० बजेपछि सुरु हुनेछ ।

बैठकमा विभिन्न १९ एजेन्डामा छलफल हुने बताइएको छ । बैठकमा नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई पुरस्कृत गर्ने, राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल सञ्चालन गर्ने, सहिद स्मारक ’ए’, ’बी’ र ’सी’ डिभिजन लिग, महिला राष्ट्रिय लिग लगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, विभिन्न समिति तथा उपसमितिहरुको गठन तथा पुनर्गठन, आर्थिक तथा कर्मचारी नियमावली संशोधन, राष्ट्रिय टिम विदेश भ्रमणमा जाँदाको पेश्की सम्बन्धमा र खेलाडीहरु तथा टिममा सहभागी प्रशिक्षक एवम् अफिसियलहरुको सेवा सुविधा, फिफाद्वारा प्रदान गरिएका आर्थिक निर्देशन तथा अनुसन्धानको सुझावहरु, जिल्ला, प्रदेश, एन्फा प्रेसिडेन्ट कप तथा राष्ट्रिय लिगबारे, संघको नियमित साधारणसभा, निर्वाचन निर्देशिका लगायतका विषयमा छलफल हुनेछ ।

तर, बैठकमा पूर्वअध्यक्ष गणेश थापाको पत्रले प्रवेश नपाउने भएको छ । आफूमाथि लागेको आरोपबारे एन्फा कार्यकारिणी समितिको बैठकमा धारणा राख्न माग गर्दै पूर्वअध्यक्ष थापाले एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई पत्र लेखेका थिए ।

एन्फाको वर्तमान नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै आएका थापाले सार्वजनिक रुपमा एन्फा अध्यक्ष शेर्पालाई पत्र लेख्दै एन्फा कार्यकारिणी समिति बैठकमा आफ्नो धारणा राख्न दिन माग गरेका थिए ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले फिफाले प्रतिबन्ध गरेको व्यक्तिलाई कार्यसमितिमा बोल्न दिने विषय वैधानिक नभएको बताए । उनले फिफाले कारबाही गरेको व्यक्तिसँग पदाधिकारीले सम्बन्ध राख्न नपाउने उल्लेख गरे ।

वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसहित कार्यसमितिका सात सदस्यले बैठक राख्न माग गरेपछि एन्फाले बैठक डाकेको हो ।

-खेलपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer