२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

इलामबाट फागुन ८ देखि नियमित उडान


झापा, माघ ९ । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माणको काम सम्पन्न भएसँगै अब हरेक साता एक नियमित उडान हुने निश्चित भएको छ । यही फागुन ८ गतेबाट नियमित उडान हुने जनाइएको छ ।

इलामबाट नियमित उडान हुने भएसँगै सुदूर पूर्वी पहाडी जिल्लाका यात्रीलाई अब झापाको विकल्प तयार भएको छ । तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा सुरु गर्ने भएको हो ।

इलाम नगरपालिका र तारा एयरबीच सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार आगामी फागुन ८ देखि प्रत्येक आइतबार उडान–अवतरण हुने निश्चित भएको हो ।

नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु सिट क्षमताको जहाज एकतर्फी भाडा ८ हजार ७०० रुपैयाँ तोकिएको छ । सम्झौताअनुसार ११÷११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले तिर्नेछ ।

नगरपालिकाले एकतर्फी भाडा तिरेमा दुईतर्फकै उड्नका लागि सहुलियत दिएको हो । पूर्वी नेपालको भ्रमणमा जाने आन्तरिक पर्यटकको संख्या बढी रहे पनि सडक यातायातबाट जाँदा बढी समय लाग्ने भएकोले हवाई यात्राबाट पर्यटक संख्या बढ्ने अपेक्षा नगरपालिकाको छ ।

इलाममा, सन्दकपुर, माईपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथिभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पान्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगर, रोङको कारसोङ पदमार्ग आदि पर्यटकीय आर्कषणका केन्द्र हुन् ।

इलाम सदरमुकाम नजिकै रहेको सुकिलुम्बा विमानस्थलमा पहिलोपटक २०७५ जेठ २१ गते जहाज बसेको थियो । पहिलो परिक्षण उडान सफल भएपछि स्थानीय रमाएका थिए । करिब १५ वर्षअघिबाट निर्माण थालिएको विमानस्थलमा सो बेला परीक्षण उडान सफल भएपछि जिल्लाबासी खुसी भएका थिए ।

तत्कालीन एमालेका नेता झलनाथ खनाल प्रधानमन्त्री बनेको समयमा विमानस्थल बनाउन बजेट छुट्याइएको थियो । विमानस्थलको धावनमार्गमा ग्राभेल भएपछि जहाज बसेको थियो ।

विमानस्थल सात सय मिटर लम्बाइ र अधिकतम ६० मिटर चौडाइ छ । माइखोलादेखि पहिरोको जोखिम कम गर्नका लागि आठवटा क्यास्केट र व्यवस्थित नाली निर्माण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer