२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापाली देवेन्द्रको राष्ट्रिय टिममा पुनारगमन !


झापा, माघ १० । फुटबल खेलका खेलाडीको प्राइम उमेर कतिलाई मान्न सकिन्छ ? कति उमेरसम्म या भनौँ कुन उमेरबाट चाहिँ कुनै पनि खेलाडीले आफ्नो उत्कृष्ट खेल खेल्न सक्छ ?

कुनै पनि खेलाडीले आफ्नो करियर कतातर्फ ढल्किएला भन्ने मेसो २०–२२ वर्षबाटै पाउँछन् । कुनै खेलाडीहरु क्लब फुटबलमै सीमित हुन्छन् त कुनै खेलाडीले राष्ट्रिय टिममा पनि स्थान पाउँछन् । कुनै खेलाडी भने चाहिँ राष्ट्रिय टिममा परे पनि दुर्भाग्यवश प्राय खेलमा बेञ्च खेलाडीमै सीमित हुन बाध्य हुन्छन् ।

देवेन्द्र तामाङ – पछिल्लो समय लगातार पहिलो एघारमा खेल्दै आए पनी चोटग्रस्त हुँदा केही समय मैदान बाहिर रहन पुगे ।

झापा अर्जुनधाराका उनले विभिन्न क्लबहरूबाट प्रायः घरेलु प्रतियोगिताहरूमा मुख्य डिफेन्डरका रूपमा खेल्दै आफ्नो दबदबा कायम राखेका छन् । झापा–११, थ्री स्टार, च्यासल, मनाङ जस्ता उत्कृष्ट क्लबहरुमा खेलेर आफूलाई अब्बल साबित गरिसकेका देवेन्द्र हाल मछिन्द् क्लबमा आबद्ध छन् । खेलमा एकदमै केन्द्रित मानसिकता, बलियो शारीरिक बनोट, बल खोस्न माहिर रहेका देवेन्द्रले आफ्नो पोजिसनलाई कायम राख्दै खेललाई बुझ्न सक्ने क्षमता राख्दछन् ।

घरेलु लिग तथा प्रतियोगिताहरूमा निकै राम्रो प्रदर्शन गरे पनि उनको राष्ट्रिय टिमको करियर भने त्यसै अनुरूप हुन सकेन । उनको दुर्भाग्य भनौँ या त उनीभन्दा अब्बल खेलाडी भएर, उनले ढिलोगरी राष्ट्रिय टोलीबाट खेल्न पाए ।

उनी अहिले २८ वर्षका भइसकेका छन् । सुरुमा नेपाली राष्ट्रिय टिमको सुरुवाती ११ मा प्राय नपरे पनि उनले हार भने मानेनन् । बरु अझ आफ्नो खेललाई कसरी अझै सुधार गर्न सकिन्छ भन्नेतिर लागे । पहिलो एघारमा खेल्न थाले पछि आफ्नो दरिलो खेल पस्कन थाले । विडम्बना, उनी खेल दौरान घाइते हुन पुगे र लामो समयसम्म चोटग्रस्त भए ।

लामो समयसम्म चोटग्रस्त भएका देवेन्द्रले अब फेरि आफ्नो पुरानो फर्म फर्काउन नसक्लान् भन्ने धेरैलाई नलागेको होइन ।

तर, यस कुरालाई गलत साबित गर्दै उनी अहिले आफ्नो जीवनकै उत्कृष्ट फर्ममा छन्भन्दा फरक नपर्ला । यस सिजन मछिन्द्र क्लबले घरेलु लिगको आफ्नो ८ खेल खेलिसक्दा ७ खेलमा क्लिन सिट राख्दै लिगको शीर्ष स्थानमा रहेको छ जसमा देवेन्द्र तामाङको भूमिका निकै नै महत्वपूर्ण रहेको छ ।

क्लिन सिटको संख्या र खेलका दौरान उनले गर्ने गरेको निकै लोभलाग्दो बल वितरणले गर्दा मछिन्द्र क्लबले राम्रो प्रदर्शन गरिरहेको छ । यसको पछिल्लो उदाहरण हो मछिन्द्र क्लबविरुद्ध फ्रेन्ड्स क्लबको खेलमा उनी खेलको म्यान अफ द म्याच घोषित हुनु ।

यी कुराहरुबाट प्रस्ट हुन्छ कि देवेन्द्रले अब आगामी दिनमा राष्ट्रिय टिममा समेत आफ्नो दरिलो छाप छोड्ने छन् । प्रशिक्षक अब्दुल्लाहले उनलाई र उनको खेललाई पक्कै पनि नजिकैबाट नियालिरहेका छन् ।

आफ्नो प्राइम उमेरमा राष्ट्रिय टिममा पर्न नसके खेलजीवनबाटै हराउने र अन्य पेशा अपनाउने अथवा विदेश पलायन हुने नेपाली खेलाडीभन्दा फरक देवेन्द्रले यो उमेरमा लामो समय चोटग्रस्त भएर खेलमैदानबाट बाहिरिनु परे पनि उनले देखाएको इच्छाशक्ति र समपर्ण निकै नै तारिफयोग्य रहेको छ, जसका कारण अहिले उनले घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने अब राष्ट्रिय टिममा समेत पुनरागमन गर्ने तरखरमा रहेका छन् ।
गोलनेपालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer