झापा, माघ १० । व्यापारिक क्षेत्रमा गरिने कामलाई ‘स्मार्ट जब’ को रुपमा विकास गर्ने उद्देश्यले नेपाल व्यापारी कर्मचारी संघ (युनिकम) ले आफ्ना नयाँ नेतृत्वकर्तालाई नेतृत्व विकास तालिम प्रदान गरेको छ ।
झापाको बिर्तामोडमा आज एक दिने प्रशिक्षणको आयोजना गरी युनिकमले संघमा आबद्ध सदस्यलाई सक्षम र नेतृत्व विकासमा योगदान पुर्याएको जनाएको छ ।
युनिकम बिर्तामोड अध्यक्ष कविन्द्र रिजालको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलले व्यापार क्षेत्रमा काम गर्ने कामदारलाई घरेलु कामदारको रुपमा हेरिने गरेकोमा त्यसमा परिवर्तन हुँदै आएको बताए ।
‘युनिकमले व्यापारिक क्षेत्रमा गरिने कामलाई ‘स्मार्ट जब’ बनाउने अभियान चलाइरहेको छ’, उनले भने, ‘राम्रो अवसरको खोजीमा यताउता धाउनु भन्दा आफूलाई राम्रो बनाएर सोही काममा अवसर सिर्जना गर्नुपर्छ ।’
तालिमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका प्रवक्ता कुमार भट्टराईले यस प्रकारको तालिमले मानिसको व्यक्तिगत र सामाजिक विकासमा सहयोग पुग्ने बताए । कार्यक्रममा युएनआइ नेपालका अध्यक्ष शंकर लामिछाने र नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीले कार्यक्रम सफलताको शुभकामना दिए ।
तालिममा सहभागीलाई युएनआई एसिया प्यासिफिक प्रोग्राम को–अर्डिनेटर तिलकजंग खड्का (कल्याण) ले प्रशिक्षण दिएका थिए । नेतृत्व विकासबारे नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र संघका केन्द्रीय अध्यक्ष पौडेलले प्रशिक्षण दिए भने व्यापार विकासका बारे युनिकम सदस्य मोहन रेग्मीले प्रशिक्षण दिएका थिए ।
युनिकम नेपालका सागर रिजालले सञ्चालन गरेको तालिममा स्वागत सहभागीका तर्फबाट गंगा भट्टराईले गरेकी थिइन् । तालिममा बिर्तामोेड क्षेत्रका ३० जना अगुवा व्यापार कर्मचारी सहभागी थिए ।