झापा, माघ १३ । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आगामी चैतबाट सुरु हुने भएको छ ।
आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले विज्ञप्ति जारी गर्दै तीन नयाँ टोली थप्दै चैत २६ देखि एनएसएलको दोस्रो संस्करण आयोजना गर्ने जनाएको हो । प्रतियोगिता २०७९ जेठ ७ गतेसम्म आयोजना गरिनेछ ।
आयोजकले दोस्रो संस्करणमा यसअघिका ७ टोलीमा ३ टोली थप्दै १० टिमलाई खेलाउने जनाएको छ । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
त्यस्तै, दोस्रो संस्करणको प्रतियोगिताका खेलहरु दुई सहरमा आयोजना हुने आयोजकले जनाएको छ । यसअघि काठमाडौँमा मात्र भएको प्रतियोगिता अब प्रतियोगिताका खेलहरू पोखरा र काठमाडौँमा हुनेछ ।
आयोजकका अनुसार प्रतियोगिता पोखरामा सुरु हुने र त्यसपछिका खेलहरू काठमाडौँमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना भएको पहिलो संस्करणको उपाधि विकेश कुथुको कप्तानीमा रहेको काठमाडौँ रेजर्सले जितेको थियो ।
नयाँ थपिने ३ टिमको लागि आयोजकले फेब्रुअरीमा अक्सन आह्वान गर्ने जनाएको छ ।