झापा, माघ १५ । वीरता जेसीजले आफ्नो स्थापना दिवसमा संस्थापक अध्यक्षलाई सम्मान गरेको छ ।
आज अतिथि सदनमा आयोजित एक कार्यक्रमका बीच वीरता जेसीजले ४१ औँ स्थापना दिवसको अवसर पारेर संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतलाई सम्मान गरेको हो ।
बस्नेत माघ १२ गते सम्पन्न राष्ट्रियसभाको निर्वाचनबाट सदस्यमा निर्वाचित भएका थिए । शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएका उनी १ नम्बर प्रदेशबाट सदस्यमा निर्वाचित भएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीजका पूर्वअध्यक्ष महेश पौडेल, वीरता जेसीज २०२२ का अध्यक्ष प्रविण खड्कालगायतले बस्नेतलाई सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यकारी उपाध्यक्ष कुशल खतिवडाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रम संयोजक वसन्त ढकालले स्वागत गरेका थिए ।
कार्यक्रममा पूर्वअध्यक्ष राजकुमार पोखरेल, सम्मानित व्यक्तित्व बस्नेत, प्रमुख अतिथि पौडेललगायतले आआफ्नो भनाइ राखेका थिए ।
सन् २०२२ का अध्यक्ष खड्काको अध्यक्षतामा भएको सम्मान कार्यक्रमको सञ्चालन महासचिव टिकाराम खतिवडाले गरेका थिए ।