२०८१ कार्तिक १८ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको १० वर्षपछि जित


झापा, माघ १५ । नेपालले १० वर्षपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा घरेलु मैदानमा जित निकालेको छ । नेपालले आज दशरथ रंगशालामा भएको मोरिससविरुद्धको खेलमा १० को जित निकालेको हो ।

फरवार्ड विमल घर्तीमगरको गोलमा नेपालले मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको थियो । उनको त्यही गोल नै नेपालको जितका लागि पर्याप्त भयो ।

प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पुनरागमन गरेको पहिलो खेलमै विमलले गोल गर्न सफल भएका हुन् । उनले ५५औँ मिनेटमा गोल गरेका हुन् । अन्जन विष्टको पासमा गरेको प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो ।

उनले सन् २०१८ मा भएको साफ च्याम्पियनसिपपछि पहिलो गोल गरेका थिए । यससँगै विमलको गोलसंख्या ९ पुगेको छ ।

शनिबार भएको प्रतिस्पर्धात्मक खेलको दोस्रो मिनेटमा सुनिल बलको आर्कभित्रको फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिँदा नेपाल अग्रता लिनबाट चुक्यो । त्यसपछि अन्जन विष्टको प्रहारलाई मौरिससका गोलरक्षक तथा कप्तान केभिन जित लुइसले सहजै बचाए । सुमन लामाको प्रहार आकासियो ।

१६औँ मिनेटमा एड्रिएन फ्रान्कोइसको प्रहारलाई नेपालका डिफेन्डर देवेन्द्र तामाङले ब्लक गरे । ३१औँ मिनेटमा सुमन लामाको ३० यार्ड टाढाको सशक्त प्रहार पोस्टनजिकैबाट बाहिरिँदा नेपाल अग्रता लिनबाट चुक्यो ।

३६औँ मिनेटमा एड्रिएन फ्रान्कोइसको वान भर्सेस वानको प्रहारलाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले नियन्त्रणमा लिँदै नेपालको खतरा टारे ।

४५औँ मिनेटमा अन्जन विष्टले सुवर्ण अवसर चुकाउँदा नेपाल पनि अग्रताबाट चुक्यो । डिफेन्डरको गल्तीमा अन्जनले अवसर पाए पनि उनको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरियो । ४६औँ मिनेटमा फर्नान्डो ज्याक्सनको प्रहार पोलमा लागेर फर्कदा नेपालको खतरा टरेको थियो ।

नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो । नेपालले अब मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण मंगलबार खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer