झापा, माघ २० । काँकरभिट्टास्थित एसएस फुटवेयरमा आज विहानदेखि लागेको आगो बल्ल नियन्त्रणमा आएको छ । बिहीबार विहान ११ बजेर ३० मिनेट जाँदा सो उद्योगमा लागेको आगो थियो । करिब ५ घण्टापछि आगो नियन्त्रणमा आएको हो ।
मेचीनगर ६ का श्याम पिन्टुको जुत्ता उद्योगमा विद्युत सर्ट भई लागेको आगो नियन्त्रणमा लिन स्थानीयबासी, प्रहरी, दमकल र भारतीय क्षेत्रबाट दमकलसहितको सुरक्षाकर्मी लागिपरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी सुनिलसिंह दाहालले बताए ।
‘उद्योगभित्र रहेको जुत्ता बनाउने कच्चा पदार्थ, रेडिमेड जुत्ता, केमिकल लगायतका सामान पूर्णरुपमा नष्ट भएको छ’, डिएसपी दाहालले भने, ‘भवनको चारैतिरको भाग पूर्णपमा जलेको छ । क्षति यकिन भन्न नसके पनि करोडौँको क्षति भएको अनुमान गर्न सकिन्छ ।’
आगो नियन्त्रणमा भारत र नेपालका दमकलहरुले आगो नियन्त्रणमा खटिएका थिए । डिएसपीका अनुसार भारतका ३ तथा, इलाम, झापा र मोरङका १० वटा गरी १४ वटा दमकलले आगो नियन्त्रणको प्रयास गरेका थियो ।
आगो नियन्त्रणमा नेपाली सेना, जनपद, सशस्त्र प्रहरी र स्थानीयहरु विहानदेखि खटिरहेका थिए । स्थानीय मेचीनगर नगरपालिकाको दमकल भने बिग्रिएर थन्किएपछि समयमै आगो नियन्त्रणमा लिने प्रयास असफल भएको थियो ।
स्थानीय आँखा अस्पताल र खानेपानीको च्यानलबाट ती दमकलहरुमा पानी भर्न मद्दत मिलेको थियो । मानवीय क्षति नभए पनि क्षतिबारे थप विवरण आउन बाँकी रहेको छ ।