झापा, माघ २६ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आगामी बैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ ।
बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसइइ बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिइएको छ । स्थानीय चुनावको मितिसँग एसइइको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसइइको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।
कोरोना महामारीले पठनपाठन प्रभावित भएको जनाउँदै बोर्डले नियमित समयभन्दा एक महिना ढिलो हुनेगरी परीक्षा सञ्चालन गर्न लागेको हो । बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई समेत लक्षित गरेर बैशाख ९ गतेदेखि परीक्षा सञ्चालन गर्न लागिएको शर्माले बताए ।
उनले भने ‘हामीले बैशाखभित्र गर्ने भनेकै थियौँ । तर, निर्वाचन मिति तय नहुँदासम्म जुध्ने हो कि भन्ने कुराले केही ढिलाइ भएको हो । निर्वाचनअघि नै परीक्षा सक्नेगरी मिति तय गरिएको हो ।’
बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ ।