झापा, फागुन २ । झापाको सतासीधाम सामुदायिक वन उपभोक्ता समूह र झापाली समाज इजरायलको संयुक्त लगानीमा सतासीधाम पिकनिक स्पोटमा आरसिसी सभाहल निर्माण हुने भएको छ ।
शिवसताक्षी नगरको सताक्षीधाम मन्दिर दक्षिण सतासी पिकनिक स्पोटमा भवन निर्माण हुने भएको हो । सतासीधाममा वनभोज खाएर रमाउने टोलीले सुरक्षित भवनको आवश्यकता ठानेपछि सभाहल निर्माण हुने भएको झापाली समाज इजरायलका पूर्वअध्यक्ष सुवास खरेलले बताए ।
स्थानियबासी समेत रहेका सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि सतासीधाम वनभोज स्थलमा स्थायी भवनको आवश्यकता औँल्याएपछि झापाली समाज इजरायलको ध्यानाकर्षण भएको खरेलले बताए ।
खरेलका अनुसार २ वर्षअघि नै सामुदायिक वन र समाजबीच सम्झौता भएको थियो । वन क्षेत्रमा स्थायी संरचना निर्माणमा कानुनी जटिलता देखिएपछि भवन निर्माणको योजना बीचैमा रोकिएको थियो ।
पछिल्लो समय जिल्ला वन कार्यालय इलामबाट सताक्षीधाम दक्षिणको करिब ४ सय मिटर दूरीको वन क्षेत्रलाई पर्यापर्यटनका लागि वन क्षेत्र स्वीकृत गरेपछि स्थायी संरचना निर्माण हुन लागेका हुन् ।
सो क्षेत्रमा सभाहल, शौचालय, खानेपानी, विद्युत, सञ्चार लगायतका लागि पूर्वाधार निर्माण हुने छन् । यसका लागि जिल्ला वन कार्यालय इलामले साढे तीन हेक्टर क्षेत्र पर्यापर्यटनका लागि छुट्याएको सामुदायिक वनका अध्यक्ष हेमबहादुर थापाले बताए ।
समाजले ८ लाख र सतासीधाम सामुदायिक वन उपभोक्ता समूहले ८ लाख गरेर १६ लाखमा भवन निर्माण हुन लागेको छ । २५० मानिस अटाउन सक्ने हल निर्माण हुने सामुदायिक वनका अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार यो भवन तीन महिनामा निर्माण सम्पन्न हुनेछ ।
भवन निर्माण भएपछि वनभोजका लागि सताक्षीधाम आउनेले जस्तोसुकै कार्यक्रम गर्न सक्ने छन् । हावा, पानी लगायतका प्राकृतिक प्रकोपमा पनि वनभोज खान आउने सुरक्षित हुने छन् ।
झिलझिले सताक्षीधाम सडक पनि कालोपत्रे हुन थालेपछि सतासीधाम वनभोज क्षेत्र वनभोज खानेका लागि पूर्वमा आकर्षक गन्तव्य हुने नेपाली कांग्रेसका शिवसताक्षी नगर उपसभापति सन्त फेवदिनले बताए ।
झापाली समाज इजरायलका पूर्वअध्यक्ष खरेल, सामुदायिक वनका अध्यक्ष थापा र नेपाली कांग्रेस शिवसताक्षीका उपसभापति सन्तकुमार फेवदिनले संयुक्त रुपमा भवनको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरेको निर्माण उपभोक्ता समितिका सचिव राकेश रिजालले बताएका छन् ।