२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

फुटबलर विशाल बाँधिए विवाह बन्धनमा


बिर्तामोड, फागुन ६ । राष्ट्रिय फुटबल टोलीका सदस्य मिडफिल्डर विशाल राई शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका छन् ।

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर झापाका राईले इलमकी रविना गुरुङलाई दुलही बनाएका हुन् ।

झापा अर्जुनधारा ११ कमलधापका विशाल र इलाम सन्दकपुर ४ मावोकी रविना झन्डै चार वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । फागुन ४ गते विशालको तर्फबाट रविनाको घरमा गएर मागेर ल्याइएको थियो ।

विशालका अनुसार शुक्रबार राई परम्परा अनुसार र पछि गुरुङ परम्परा अनुसार विवाह भएको हो । लजालु स्वभावका विशालको रविनासँग पहिलो भेट काठमाडौँमा भएको थियो ।

काठमाडौँको दशरथ रंगशालामा मछिन्द्रले लगातार दोस्रोपटक लिगको उपाधि रक्षा गरेका दिन विशाल भने रविनलाई लिन झापाबाट इलाम पुगेका थिए । झापा फर्कने क्रममा क्लबले उपाधि जितेको जानकारी पाएको विशालले बताए ।

विशाल लगातार चौथोपटक लिग च्याम्पियन टोलीको सदस्य बनेका छन् । मछिन्द्रबाट लगातार दुईपटक लिग जित्नुअघि उनले त्यही सफलता मनाङ मर्स्याङ्दी क्लबबाट पनि प्राप्त गरेका थिए । विशालसँगै सुजल श्रेष्ठ र गोलकिपर विशाल श्रेष्ठ पनि लगातार चौथोपटक लिग च्याम्पियन टोलीको सदस्य बनेका थिए ।

सन् २०१५ मा राष्ट्रिय टोलीमा परेयता उनले पछाडि फर्किएर हेर्नु परेको छैन । २०१५ देखि २०२२ सम्मको यात्रामा उनी राष्ट्रिय टोलीको मिडफिल्ड सम्हालिरहेका छन् । ३४ क्याप खेलेका विशालले ४ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

एउटा गोल त ऐतिहासिक गोल नै रहेको छ । लाओसविरुद्ध गरेको गोल एक दशकभन्दा पछिको गोल हो । २०१५ मा भारतको पुनेबाट डेब्यु गरेका विशालले माल्दिभ्स, फिलिपिन्स र बंगलादेशविरुद्ध गोल गरिसकेका छन् ।

बुवा जागिरमान र आमा सावित्राका २९ वर्षे छोरा विशाल एक्ला हुन् भने बहिनीको विवाह भइसकेको छ । तत्काल कुनै योजना छैन, राई जातिले मान्ने चुला यहाँ नभएर पहाड घर खोटाङमा गएर बुहारीलाई देखाउने मात्र अहिलेको योजना उनले सुनाए ।

विशालको विवाहमा सरिक हुन मछिन्द्रका कप्तान सुजलसहित अन्य खेलाडी झापा आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer