२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

दशक मूल्यांकनसहित पल्सर स्पोर्टस अवार्ड चैत ८ मा


काठमाडौ, फागुन १६ । यस वर्षको पल्सर स्पोर्टस अवार्ड चैत ८ गते आयोजना हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले पत्रकार सम्मेलन गरेर १८ औँ संस्करणको अवार्डको मिति सार्वजनिक गरेको हो ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले कोभिडका कारण गत वर्ष कमै मात्र प्रतियोगिता आयोजना भएका कारण यस वर्ष फरक स्वरुपमा अवार्ड गरिने बताए । उनले पछिल्ला १० वर्षमा नेपाली खेलकुदमा इतिहास कायम गरेका व्यक्तिलाई यस वर्ष सम्मानित गरिने बताए ।

आयोजकका अनुसार यस वर्ष सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल वार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड र पिपल्स च्वाइस अवार्ड विधामा पुरस्कृत गरिनेछ ।
दशक अवार्ड भएका कारण यस वर्ष सर्वोत्कृष्ट युवा खेलाडीको विधा भने समावेश नगरिने आयोजकले जनाएको छ ।

मञ्चका महासचिव प्रज्ज्वल ओलीले अवार्डका लागि मञ्चको खेलाडी छनोट समितिले आवश्यक गृहकार्य सुरु गरिसकेको बताए । उनले दशक खेलाडी पुरुष, महिला, प्रशिक्षकको छनोट कार्य सुरु भइसकेको जानकारी दिए ।

ओलीका अनुसार पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डका विजेता कार्यक्रमकै दिन घोषणा गरिनेछ भने पिपल्स च्वाइस अवार्डका लागि भने छिटै मनोनयन सार्वजनिक गरिनेछ ।

आयोजकका अनुसार दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र)को अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । हरेक वर्षजस्तै पल्सर स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer