२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सन्दीपलाई दुर्लभ विश्व कीर्तिमानको अवसर


बिर्तामोड, चैत १ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई आइसिसी विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) भ्रमणमा विश्व कीर्तिमान कायम गर्ने अवसर छ ।

ओडिआइमा डेब्यु कप्तानी गर्न थालेका सन्दीपले युएई भ्रमणमा सुरुवाती दुई खेलमा गरी ९ विकेट लिन सके ओडिआइ इतिहासमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने खेलाडी बन्नेछन् । सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडिआइ खेलमा डेब्यु गरेका सन्दीपले १६ खेलमा ४१ विकेट लिएका छन् । बाँकी दुई खेलमा ९ विकेट लिँदा १८ खेलमै ५० विकेट पूरा हुनेछ ।

ओडिआइ विश्व क्रिकेट इतिहासमा सर्वाधिक छिटो ५० विकेट १९ खेलमा श्रीलंका पूर्वस्पिनर अजान्था मेन्डिसको नाममा छ । उनले २००९ मा जिम्बाबेविरुद्ध उक्त सफलता हात पारेका थिए । सन्दीपले आइसिसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनी र युएईसँगको त्रिकोणात्मक ओडिआई सिरिजको सुरुवाती दुई खेलमा ९ विकेट लिए ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाउनेछन् ।

तीन खेलमा ९ विकेट लिन सके कीर्तिमान बराबर गर्नेछन् । सन्दीपले विश्वका थुप्रै स्टार खेलाडीलाई भने यस सफलतामा पछि पार्ने देखिन्छ । ओडिआइमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने दोस्रो खेलाडी भारतीय पूर्वतीव्र गतिका बलर अजित अगरकर हुन् । उनले २३ खेलमा ५० विकेट पूरा गरेका थिए । न्युजिल्यान्डका मिचेल म्याकलेनघानले २३, अस्ट्रेलियाका डेनिस लेली, पाकिस्तानका हसन अली, भारतका कुलदीप यादव र अस्ट्रेलिया स्वर्गिय शेन वार्नले २४–२४ खेलमा उक्त सफलता हात पारेका थिए ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले २५ र अफगानिस्तानका राशिद खानले २६ खेलमा उक्त सफलता हात पारेका थिए । नेपालबाट सन्दीपपछि तीव्र गतिका बलर करण केसीले १४ खेलमा २४, सुशान भारीले ९ खेलमा १५ र सोमपाल कामीले ८ खेलमा १५ विकेट लिएका छन् । अन्य नेपाली खेलाडीले १० माथि विकेट लिन सकेका छैनन् ।

अघिल्लो महिना आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा सन्दीपले नेपालको लागि कप्तानी गरेका थिए । ओडिआईमा यसै सिरिज मार्फत गर्नेछन् । सन्दीपको ओडिआईमा उत्कृष्ट प्रदर्शन गत सेप्टेम्बरमा पपुवा न्युगिनीविरुद्ध ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट छ । सन् २०२० फेब्रुअरीमा अमेरिकाविरुद्ध घरेलु मैदानमा ६ ओभरमा १ मेडन सहित १६ रन खर्चेर ६ विकेट लिएका थिए ।

नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग बुधबार खेल्दै सुरुवात गर्नेछ । दोस्रो खेल शुक्रबार युएई, तेस्रो खेल सोमबार युएई र चौथो तथा अन्तिम खेल मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer