२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

इस्ट होराइजन स्कुलद्वारा इन्टरनेसनल स्कुल अवार्डको प्रमाणपत्र ग्रहण


बिर्तामोड, चैत ४ । विद्यालयले ब्रिटिस काउन्सिलअन्तर्गत इन्टरनेसनल स्कुल अवार्ड (आइएसए) पाएपछि धुलाबारीको इस्ट होराइजन माविले कार्यक्रम आयोजना गरेर प्रमाणपत्र ग्रहण गरेको छ ।

ब्रिटिस काउन्सिलका भिक्टर जोसेफले विद्यालय तथा प्रिन्सिपल सञ्जीव राई, प्रमुख प्रशासक सावित्री राईलगायत क्षेत्रगत शिक्षकलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको छ । बिहीवार विद्यालय परिसरबाट ब्यान्डबाजासहित धुलाबारी मोड हुँदै टाउन हलमा पुगेर कार्यक्रम गरिएको थियो ।

विश्वस्तरीय विद्यालयको मान्यता प्रदान गर्ने इन्टरनेसनल स्कुल अवार्डबाट इस्ट होराइजन मावि सफल भएको हो । देशभरबाट सहभागी ६ सय विद्यालयमध्ये ८४ ले उक्त अवार्ड पाएका हुन् ।

पूर्वी नेपालबाट इस्ट होराइजनले मात्रै अवार्ड पाउन सफल भएको विद्यालयका प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए । होनहार विद्यार्थी र शिक्षकहरुको कडा मिहेनत तथा उत्साहले अवार्ड प्राप्तिको सुखद् गन्तव्यमा पुगेको प्रिन्सिपल राईले बताए ।

विश्वस्तरीय विद्यालयको मान्यता प्रदान गर्ने इन्टरनेसनल स्कुल अवार्ड कार्यक्रम सन् २०१२ बाट नेपालमा सुरु भएको हो । अहिलेसम्म यसमा सहभागी भएका ६३२ विद्यालयमध्ये २५० विद्यालयले अवार्ड पाउन सफल भएका छन् ।

जिल्लामै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको इस्ट होराइजन विद्यालयले सन् २०२२ को जनवरी २४ तारिखमा यो उच्च गरिमायुक्त अवार्ड प्राप्त गर्न सफल भएको स्कुलका आइएसए प्रोग्राम कोअर्डिनेटर नविन दाहालले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी पुजन उपरकोटी, सारेगामाकी फस्ट रनरअफ रोशा फुँयल, पूर्वप्रधानाध्यापक विष्णु राउत, पुराना शिक्षक पुरेन्द्र निरौलालाई सम्मान गरिएको थियो ।

त्यस्तै, विद्यालयका विद्यार्थी सहभागी भई विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । सो विद्यालय एनसिसी, लिटल मिस झापा, इन्टरनेसनल क्विजमा भाग लिएर उत्कृष्ट बनेको थियो । त्यस्तै, प्रत्येक इभेन्टका शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।

मेचीनगर नगर प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्वप्रमुख विष्णु प्रसाईं, ब्रिटिस काउन्सिलका भिक्टर जोसेफ, अग्रज पत्रकार चन्द्र भण्डारी, नगर शिक्षा अधिकारी होम भण्डारीलगायतले मन्तव्य राखेका थिए ।

विद्यालयका शिक्षकद्वय रेखा क्षेत्री र विकास ग्वालले सञ्चालन गरेको कार्यक्रममा सारेगामाकी फस्ट रनरअप रोशा फुँयलले गीत गाएकी थिइन् । त्यस्तै, विद्यार्थीले विभिन्न जातीय पहिचान झल्काउने गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer