बिर्तामोड, चैत १३ । आर्थिक रुपमा विपन्न तथा घरबारविहीन परिवारलाई घर उपलब्ध गराउने उद्देश्यसाथ स्थापित कर्तव्य फाउन्डेसनले एक अशक्त दम्पत्तीलाई घर हस्तान्तरण गरेको छ ।
अर्जुनधारा ५ स्थित नमुनाबस्ती (फूलबारी) का आर्थिक अवस्था नाजुक रहेका धर्मराज–राजकुमारी गिरी दम्पत्तीलाई आइतबार एक कार्यक्रमका बीच फाउन्डेसनले निर्माण गरेको घर हस्तान्तरण गरिएको हो । धर्मराज कान सुन्दैनन् भने राजकुमारीको दुवै आँखाको ज्योति गुमेको छ ।
फाउन्डेसनले ‘हाम्रो पनि सुन्दर घर होस्’ भन्ने अभियानअन्तर्गत पहिलोपटक गिरी परिवारलाई घर हस्तान्तरण गरेको हो । उक्त घरको चाबी घर निर्माण गर्ने परिवारका तर्फबाट रणमाया पोखरेलले हस्तान्तरण गरेकी हुन् ।
बिर्तामोड ४ का व्यवसायी एवम् सामाजिक अभियान्ता मोहन पोखरेल र टिका पोखरेलले अशक्त दम्पत्तीका लागि पाँच लाख खर्चिएर घर निर्माण गरिदिएका हुन् । उनीहरुलाई पोखरेलले दुई कोठे घर निर्माण गरिदिएका हुन् ।
फाउन्डेसनका परिकल्पनाकार एवम् संयोजक महेन्द्रकुमार गिरीका अनुसार गरिब, विपन्न, असहाय, बृद्धबृद्धा, एकल महिला र अपांगता भएको परिवारका लागि ४ वर्षभित्रमा १ सय घर बनाउने लक्ष्य लिइएको छ ।
अभियानअन्तर्गत पहिलो चरणमा जिल्लाका बिर्तामोड, अर्जुनधारा र कनकाई नगरमा यो कार्यक्रम अघि बढाइनेछ । अभियानअन्तर्गत एक सक्षम र इच्छुक व्यक्ति, संस्था÷प्रतिष्ठानबाट घर नहुने एक परिवारको घर निर्माण गरिन संयोजक गिरीले बताए ।
उनका अनुसार घर निर्माणका लागि अति विपन्न अपाङ्गता भएका, बृद्ध–बृद्धा, एकल, अल्पसंख्यक, सीमान्तकृत समुदायका परिवार छनोट गरिनेछ । इच्छुक दाता-अभियानकर्मी तथा संस्था-प्रतिष्ठानले आफ्नै प्रत्यक्ष निगरानी र स्रोत परिचालनमा घर निर्माण गरिदिने फाउन्डेसनको अवधारणा छ ।
फाउन्डेसनले घर निर्माणका लागि कोहीबाट पनि नगद संकलन नगर्ने र हरेक व्यक्ति, संस्था÷प्रतिष्ठानको सामाजिक उत्तरदायित्वमा जोड दिने जनाएको छ ।
अर्जुनधारा ५ का वडाअध्यक्ष ध्यानबहादुर भारतीको अध्यक्षतामा भएको कार्यक्रममा सहारा नेपाल साकोसका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाले स्वस्ती वाचन गरेर सुरु गरिएको हो ।