बिर्तामोड, चैत २६ । बुद्धशान्तिमा जारी प्रथम शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि आज इलामको रोङ र आदर्श युवा क्लब बुधबारे भिडदै छन् ।
खेल बुद्धशान्ति ५ खारखोलाको गौतम बुद्ध प्राविको खेल मैदानमा दिउँसो २ बजेदेखि हुने आयोजक समितिका सदस्य विशाल गुरुङले जानकारी दिए ।
यसअघि भएको सेमिफाइनलमा रोङले आयोजक जागृतिलाई २–१ ले र आदर्श युवा क्लब बुधबारेले पूर्वेली क्लब बिर्तामोडलाई ३–० पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।
प्रतियोगिताको विजेतालाई नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र साथै उपविजेतालाई नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष अजय सरदारले जानकारी दिए ।