२०७९ असार २२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

पार्किन्सन्सका बिरामीबारे यी कुरा ख्याल गरौँ


डा पंकज जलान

मांसपेशीको लचिलोपन कम भएर शरीर राम्रोसँग नचल्ने स्थितिलाई पार्किन्सन्स भनिन्छ। सामान्यतया बुढेसकालमा लाग्ने यो रोग विशेषगरी ६०–६५ वर्षको उमेरमा हुने गर्छ। ३ सय वर्ष पहिला डा.पार्किन्सन्सले यो रोग व्याख्या गरेका थिए। विश्वमा झन्डै ५० लाखभन्दा बढी व्यक्तिमा यो समस्या रहेको अनुमान गरिएको छ। यो रोग महिलाको दाँजोमा पुरुषमा दुई गुणा बढी लाग्ने सम्भावना रहेको अध्ययनले देखाएको छ। विशेषगरी वृद्धावस्थामा यो समस्या देखिने भए पनि ३०–४० वर्षका व्यक्तिहरु पनि पीडित भएका पाइन्छन्। 

नेपालमा यस रोगका बिरामी कति छन् भन्ने तथ्यांक छैन। यस रोगमा मस्तिष्कको कार्यमा गडबडी आई मांसपेशीको गतिमा अवरोध हुन्छ।

मस्तिष्कमा भएको स्नायुकोषले डोपामाइन नामक महत्वपूर्ण रसायन उत्पादन गर्ने गर्छ। यसले मस्तिष्कमा आवश्यक संकेत तथा निर्देशन पठाई शरीरका विभिन्न भागका मांसपेशीको गति नियन्त्रण गर्ने काम गर्छ। साधारण अवस्थामा मस्तिष्कबाट प्राप्त निर्देशनअनुसार मांसपेशीको गतिमा नियन्त्रण भई शरीरका विभिन्न अंगले सन्तुलित कार्य गर्न सक्छन्। 

तर पार्किन्सन्स भएपछि स्नायुकोष निस्क्रिय हुने भएकाले डोपामाइन रसायन बन्न सक्दैन। यसले गर्दा व्यक्ति सुस्त हुँदै जाने, काम गर्न नसक्ने, सीधा उठ्न नसक्ने, हात–खुट्टा का“प्ने, मांसपेशीको लचिलोपना कम हुने तथा बाउ“डिने, हिँड्डुल गर्न नसक्ने वा लड्ने, लेख्ने क्षमतामा कमी हुँदै जाने, स्वरमा परिवर्तन हुने, खाना सर्कने आदि समस्या आउन सक्छ। यो समस्याबाट देखिने लक्षण पनि व्यक्तिअनुसार फरक–फरक हुन सक्छ। कसै–कसैमा सामान्य प्रकारको मात्र लक्षण देखिने हुन्छ  तर कसैमा जटिल प्रकारको समस्या हुन्छ र व्यक्ति निष्क्रिय जीवन व्यतित गर्न बाध्य हुन्छ।

मुख्य रूपमा मष्तिस्क स्नायुकोषको खराबीका कारण पार्किन्सन्सको समस्या हुन्छ। तर, टाउकोमा लागेको चोटपटक, वंशाणुगतलगायत कारणले गर्दा पनि यो रोग हुन सक्ने अध्ययनले देखाएको छ। विशेषत हातखुट्टा थरथर का“प्ने, मांसपेशीको लचिलोपना कम हुने, शरीरको गतिमा कमी आउने, हिँड्न गार्‍हो हुने, शरीरको सन्तुलन कायम राख्न गार्‍हो हुने, अनुहारको मांसपेशी कडा हुने यस अवस्थामा देखिने लक्षण हुन्।

यी लक्षणबाहेक चिन्ता वा तनाव बढ्ने, स्मरणशक्ति घट्दै जाने, धेरै वर्षदेखि कब्जियत हुने, मुख सुख्खा भई निल्न गार्‍हो हुने, सुँघ्ने क्षमतामा कम हुँदै जानेजस्ता अन्य लक्षणसमेत देखिन सक्छन्।

यो रोग के कारणले भएको हो भन्ने हालसम्म पनि निक्र्यौल हुन सकेको छैन। यस विषयमा अनुसन्धानहरू भैरहेका छन्। विशेषगरी जेनेटिक कारण, कसै–कसैलाई केमिकलका कारणले हुनेगर्छ। प्राय पार्किन्सन्स हुने बिरामीमा कारण पत्ता लागेको हुँदैन। त्यसकारण यसलाई ‘इडियोप्याथिक पार्किन्सन्स डिजिज’ पनि भनिन्छ। पाकिन्र्सन्स सँगसँगै कसै–कसैलाई डिमेन्सीया (बिर्सने समस्या) पनि हुने गर्छ।

सामान्यतया बुढेसकालमा लाग्ने रोग भएकाले यसलाई सामान्यरुपमा हेरिएको पाईन्छ। किनभने बृदावस्थासँगै हातखुट्टा काँप्ने, हिँड्डुल गर्न नसक्ने, स्मरणशक्ति कम हुने हुदा जस्ता लक्षण हुनाले यसलाई सामान्यरुपमा लिएको पाईन्छ। तर यो एक किसिमको रोग हो भन्ने धेरैलाई थाहा हुँदैन।  

यो रोग पूर्णरुपमा निको हुँदैन। यसका लागि औषधि नै प्रमुख उपचार भएपनि बिरामीको दैनिक भोजन पोषिलो एवम् सन्तुलित हुन नितान्त आवश्यक हुन्छ। बिदेशमा पार्किन्सन्सको शल्यक्रिया समेत गरिन्छ। जसलाई डिप ब्रेन्स स्टुमिलेसन भनिन्छ। 

पार्किन्ससका बिरामीले के कुरामा ध्यान दिने?
पार्किन्सन्स भइसकेका बिरामीलाई विशेषगरी लड्नबाट बचाउनु पर्छ। त्यसकारण कोठाहरुमा ठोक्किने ठाउँहरु राख्न हुँदैन। भित्ताहरु तथा भुईमा बाक्लो म्याट तथा अन्य वस्तु राख्न सकिन्छ। शौचालय जाँदा विशेष ध्यान दिन आवश्क हुन्छ। पार्किन्सन्का बिरामी जुनसुकै बेलामा पनि लड्न सक्ने खतारामा हुन्छन्। त्यसैले उनीहरुको विशेष हेरचाह गर्न आवश्यक हुन्छ। यदि लडेर फ्याक्चर भएमा निको हुन धेरै नै समस्या हुन्छ।

बिरामीलाई खाना खान र निल्न गार्‍हो हुने भएकाले नरम खाना खुवाउनु पर्छ, कहिलेकाँही ट्युबको सहायतासमेत लिनुपर्ने हुन्छ।खाना खाने समयमा निल्न गार्‍हो हुने भएकाले सर्केर निमोनिया भई मृत्यु पनि हुनसक्छ। त्यसकारण बिरामीलाई खाना खुवाउँदा विशेष ध्यान दिनुपर्ने हुन्छ।

बिरामी एक्लैलाई खुवाउनुभन्दा परिवारको साथमा राखेर खुवाउँदा बिरामी रमाउनुका साथै खानाप्रति रुची पनि बढ्छ। यदि बिरामीलाई खाना चपाउन र निल्न गार्‍हो छ र खानाप्रति रुची पनि कम छ भने चपाउन र निल्न सजिला हुने किसिमको परिकार दिनुपर्छ।

उनीहरुले धेरै कुरा बिर्सन सक्ने भएकाले परिवारले यस्ता कुराहरुमा पनि ध्यान दिन आवश्यक हुन्छ। रोगको अवस्था अनुसार समय समयमा चिकित्सकको सल्लाह लिन आवश्यक छ।

-स्वास्थ्य खबरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*