
बिर्तामोड, चैत २८ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले लघुवित्त कारोबार गर्ने सहकारीहरुलाई आफ्नो पहिचान बनाउन अप्ठ्यारो भएको बताएका छन् ।

आज सोमबारदेखि काठमाडौँमा सुरु भएको तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा गिरीले सहकारीमार्फत लघुवित्त कारोबार प्रभावकारी हुने भए पनि यसतर्फ सरोकारवालाहरुले चासो नदिएको जिकिर गरे ।

कार्यक्रममा सहकारी संस्थाहरुको तर्फबाट कार्यपत्र पेश गर्दै गिरीले भने, ‘लघुवित्तका साथीहरुले यो सहकारी हो भन्ने, सहकारीका साथीहरुले यो लघुवित्त हो भन्ने व्यवहार गर्छन् ।’ उनले यही कारणले काम गर्न असहज भएको छ टिप्पणी गरे । यसप्रति सरोकारवाला सम्वेदनशील बन्न जरुरी रहेको उनको सुझाव थियो ।

सदस्य बनाएर कारोबार गर्ने भएकाले सहकारीहरुको लघुवित्त कारोबार अझ प्रभावकारी हुने गिरीले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ । सहकारीको नाफा सदस्यहरुलाई शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोषमार्फत प्रतिफल बाँड्ने भएकाले दोहोरो फाइदा पाउने उनका भनाइ छ । नेपालमा बचत तथा ऋण कारोबार गर्ने सहकारीहरुमध्ये १५ प्रतिशत सहकारीहरुले लघुवित्त कारोबार गर्दै आएको उनले जानकारी दिए ।

कृषि विकास बैंक, साना किसान लघुवित्त वित्तीय संस्था, आरएमडिसी, फस्ट माइक्रोफाइनान्सका साथै राष्ट्रिय सहकारी बैंक र वाणिज्य तथा विकास बैंकबाट थोक कर्जा लिएर सहकारीहरुले लघुवित्त कारोबार गर्ने गरेका छन् । यसैगरी, लघुवित्त कारोबार गर्ने सहकारीहरुमा बचतको आधार पनि बलियो भएको गिरीले बताए ।

सहारा नेपाल सदस्य संख्या र शेयर पुँजीका हिसाबले नेपालकै सबैभन्दा उत्कृष्ट र ठुलो सहकारी हो । झापा चारपानेको यस संस्थाको वासलात १५ अर्ब रुपैयाँ पुगेको छ ।