बिर्तामोड, बैशाख ९ । झापाको काँकरभिट्टामा जारी प्रथम झापा सुपर लिगको उपाधिका लागि बिर्तामोडको बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्सले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आज भएको पहिलो खेलमा धुलाबारी तथा दोस्रो खेलमा बोस्टन विजयी भएका भएपछि उनीहरुको फाइनल भेट पक्का भएको हो । काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको आजको पहिलो खेलमा धुलाबारीले सनराइज काँकरभिट्टालाई दुई विकेटले पराजित गर्यो ।
टस हारेर पहिलो ब्याटिङ गरेको काँकरभिट्टाले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनायो । काँकरभिट्टाका लागि पवन सरार्फले सर्वाधिक ३७ रन बनाए ।
धुलाबारीका लागि ज्ञानेन्द्र श्रेष्ठले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिन सफल भए भने दिपेश कँडेल र मुकुन्द यादवले समान ३–३ विकेट हात पारे ।
१५५ रनको लक्ष्य लिएर मैदान उत्रिएको धुलाबारीले ८ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । धुलाबारीका लागि मुकुन्द यादवले नटआउट ५५ रन बनाएका थिए ।
काँकरभिट्टाका लागि फिर्दोश अन्सारीले ४ विकेट, आयुष न्यौपानेले २ विकेट तथा सन्दिप ढुंगाना र पवन सरार्फले समान १–१ विकेट हात पारे । खेलको म्यान अफ द म्याच भएका मुकुन्द यादवले नगद ३००० पाए ।
त्यस्तै, आजको दोस्रो खेलमा भद्रपुर राइजिङ किङ्सका विरुद्ध बोस्टर्न ब्लास्टर्सले सानदार जित हात पारेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको भद्रपुरले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियोे ।
भद्रपुरका लागि श्रवण यादवले सर्वाधिक ४६ रन बनाए भने मन्जित श्रेष्ठ ३१ रन, सुमिरन राई २१ रन, रुपक बराल १४ रन तथा मेहबुब आलम २० रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ बोस्टनका लागि मिनास थापाले ३ विकेट, करण केसीले २ तथा राहुल पाठक र विधान गोस्वामीले समान १–१ विकेट हात पारे ।
१५८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बोस्टनले सानदार ब्याटिङ गर्दै ११.५ ओभरमा ७ विकेटको जित हात पार्यो ।
बोस्टनको जितमा करण केसी नायक बने । उनले १३ छक्का र १ चौका प्रहार गर्दै ३५ बलमा ९१ रन बनाए भने विधान गोस्वामीले २५ बलमा नटआउट ४९ रन बनाए । बोस्टनले ३ विकेट गुमाउँदै उत्कृष्ट जित हात पारेको हो ।
बलिङतर्फ भद्रपुरका लागि श्रवण यादवले २ तथा सुजन घिमिरेले १ विकेट लिए भने अन्य बलरहरु विकेटविहीन रहे । खेलको म्यान अफ द म्याच करण केसी घोषित हुँदै नगद ३००० प्राप्त गरे ।
प्रतियोगिताको विजेता टोलीले नगद २ लाख ११ हजारसहित ट्रफी पाउनेछ भने उपविजेता टोलीले नगद १ लाख ११ हजारसहित ट्रफी पाउनेछ ।
प्रतियोगिताको बेस्ट बलरले १० हजार, बेस्ट, प्लेयरले १५ हजार, बेस्ट फिल्डरले ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता लर्ड बुद्ध क्रिकेट एकाडमीले आयोजना गरेको हो ।