बिर्तामोड, जेठ १६ । झापा फुटबल क्लब एक खेल खेल्न बाँकी छँदै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ ।
लिगअन्तर्गत सोमबार भएको १२औँ चरणको खेलमा वीरगंज युथ एकेडेमीलाई ५–० ले पराजित गर्दै झापाले एक खेलअगावै ‘बी’ डिभिजन लिगमा आफ्नो स्थान पक्का गरेको हो ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको झापाले ३१ अंक जोडेको छ । झापाले लिगको अन्तिम खेल स्वयम्भु फुटबल क्लबसँग खेल्नेछ ।
दोस्रो स्थानको प्लानिङ ब्वाइज युनाइटेड क्लबको भन्दा झापाको तीन अंक बढी हो । यस्तै, तेस्रो स्थानको आरसी ३२ फुटबल एकेडेमीको पनि २८ अंक छ ।
झापाले लिगमा आरसी ३२ लाई हराएको र प्लानिङ ब्वाइजसँग बराबरी गरेको कारण एक खेलअगावै दोस्रो डिभिजनमा उक्लिएको हो ।
एन्फा कप्लेक्स सातदोबाटोमा झापालाई जित दिलाउन पुजन राईले ह्याट्रिकसहित ४ गोल गरे । सन्तोष लावतीले एक गोल थपे । खेलको १३ औँ मिनेटमा पुजनले गोल गर्दै झापालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६६ औँ मिनेटमा पुजनले व्यक्तिगत दोस्रो गोल गर्दै झापालाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ७४ औँ मिनेटमा पुजनले ह्याट्रिक पूरा गर्दै झापालाई ३–० को अग्रता दिलाए ।
इन्जुरी समयमा सन्तोषले गोल गर्दै झापालाई ४–० को अग्रता दिलाए । त्यसपछि खेलको अन्तिम समयमा पुजनले व्यक्तिगत चौथो गोल गर्दै झापालाई ५–० को सानदार जित दिलाए ।