
बिर्तामोड, जेठ १७ । झापाको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले विपन्न परिवारका ११५ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ ।

बाह्रदशी १ को अमृत माविमा आयोजित विशेष कार्यक्रममार्फत सो विद्यालयका ५९ जना, साधुपति आधारभूत विद्यालयका ३० जना र भगवती आधारभूत विद्यालयका २६ जना गरी ११५ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा सम्पन्न विद्यालय पोशाक वितरण कार्यक्रमको प्रमुख अतिथि बाह्रदशी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष टेकबहादुर सिंह राजवंशी रहेका थिए ।

मानवीय उद्धार सेवाकेन्द्र नेपाल, झापाको सहकार्यमा सम्पन्न सो कार्यक्रममा संस्थाका अध्यक्ष सुवास भट्टराईले सिम्रिक साकोसको वित्तीय अवस्था तथा संक्षिप्त चिनारी गराएका थिए ।

संस्था स्थापनाको १२ वर्षमा सिम्रिक साकोसले सामाजिक उत्तरदायित्व निर्वाहका क्षेत्रमा देखिनेगरी काम गरिरहेको स्मरण गराउँदै बालबालिकालाई पोशाक वितरण पनि उदाहरणीय बन्नेमा विश्वास गरे ।

संस्थाका सञ्चालक समिति सदस्य नविन योगीले स्वागत गर्दै विपन्न समुदायका बालबालिकालाई पोशाक वितरण गर्नुको औचित्यबारे प्रस्ट्याएका थिए ।
बाह्रदशी वडा नम्बर १ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत सम्मान पनि गरिएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई एकमुष्ठ पोशाक हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव इन्द्रबहादुर कार्कीले गरेका थिए भने मानवीय उद्धार सेवाकेन्द्र नेपाल, झापाका अध्यक्ष धनबहादुर बुढाथोकीले आफ्ना धारणा राखेका थिए ।