बिर्तामोड, जेठ १९ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग सम्पन्न गर्न दिने भनिएको रकम हालसम्म नदिएको झापा जिल्ला फुटबल संघले उल्लेख गरेको छ ।
जिल्लास्थित झापा फुटबल लिग सकिएको छ महिना बितिसक्दा पनि रकम निकासा नगरेपछि संघले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै एन्फाको आलोचना गरेको छ ।
संघले जेठ १७ गते स्टाटस लेखेर हालसम्म रकम नपठाएको जनाएको हो । झापा लिग सकिएको आज १८६ दिन भएको छ । गत मंसिर १२ गते लिगको फाइनल खेल बिर्तामोडमा भएको थियो ।
फाइनलमा अर्जुनधाराको शनिश्चरे फुटबल क्लबले अर्जुनधाराकै मनास्लु फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै उपाधि रक्षा गरेको थियो ।
संघले आफ्नो पेजमा लेखेको छ, ‘अखिल नेपाल फुटबल संघले नबुझेको कुरा, जिल्ला लिग फुटबल प्रतियोगिता सम्पन्न भएको यतिका महिना भइसकेको छ, कहिले यो मिलेन कहिले यस्तो पुगेन भनेर आजको दिनसम्म आउन बाँकी जिल्ला लिगको पैसा हामीले नपाएको अवस्था हो ।’
एन्फाले लिग सम्पन्न गर्न पाँच लाख रुपैयाँ जिल्लालाई दिने निर्णय गरेको थियो । तर, एन्फाले तीन लाख रुपैयाँ मात्र पठाएको संघका महासचिव सुन्दर बस्नेतले जानकारी दिए ।
‘हामीले लिग सम्पन्न हुनेबित्तिकै सबै बील भौचर एन्फामा पेश गरिसकेका छौँ’, महासचिव बस्नेतले भने, ‘एन्फा पैसा छैन भन्दै पन्छिने गरेको छ ।’ एन्फले झापालाई दुई लाख रुपैयाँ दिन बाँकी रहेको छ ।
बस्नेतका अनुसार एन्फाका केही पदाधिकारीहरुले भने चुनावले गर्दा रकम निकासा हुन नसकेको भन्दै फितलो जवाफ दिने गरेका छन् ।
हालको नेतृत्व आर्थिक रुपमा प्रस्ट नभएकोले पनि जिल्ला लिगको पैसा नआएको एन्फाभित्रै गुनासो सुन्न पाइन्छ ।
झापा संघले लिगको रकमचाहिँ निकासा नहुने तर एन्फामा प्रयोजन नखुलेको यर्चागुम्बाको बील भने भुक्तानी भएकोप्रति आक्रोश व्यक्त गरेको छ ।
एन्फाले ०७८ कात्तिक ५ गते बिल भरपाइ गरेर ०७८ कात्तिक १९ गते यर्चागुम्बाको ८० हजार रुपैयाँ रकमा भुक्तानी गरेको थियो ।
संघले अन्त्यमा पेजमा लेखेको छ, ‘जिल्लाकै ठुलो फुटबल प्रतियोगिता जिल्ला लिगको पैसा किन रोकियो र अब पाउनुपर्ने पैसा हामीले कहिलेसम्म पाउँछौँ, नेतृत्वलाई सोध्न चाहन्छौँ ।’