
बिर्तामोड, जेठ २९ । झापाको कनकाई नगरका समाजसेवी चिरञ्जीवी उप्रेती र ईश्वरादेवी उप्रेतीले समाजका विभिन्न क्षेत्रका प्रतिभालाई पुरस्कृत गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेका छन् ।

तीस लाख रुपैयाँको सो अक्षयकोषबाट आएको ब्याजले प्रत्येक वर्ष चार विधामा उत्कृष्ट व्यक्तित्वलाई पुरस्कृत गर्ने कोषका अध्यक्ष एकराज उप्रेतीले बताए ।

कोषको रकमबाट उत्कृष्ट नतिजासहित कनकाई नगर क्षेत्रभित्रको सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गर्ने एकजना विद्यार्थी, भवानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यक्षेत्रभित्र बसोबास गरेका एकजना असल बुहारीलाई पुरस्कृत गरिने कोषले जनाएको छ ।

त्यस्तै, कनकाई नगरपालिकाभित्रका एकजना उत्कृष्ट कृषक र झापा जिल्लाभित्र रहेर पत्रकारितामा उत्कृष्ट योगदान गर्ने एकजना पत्रकारलाई कोषले पुरस्कृत गर्नेछ ।
प्रत्येक विधाको पुरस्कार राशि ५१ हजार रुपैयाँ रहेको छ । हरेक वर्ष भवानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको साधारणसभाका दिन पुरस्कार वितरण गरिने कोषका अध्यक्ष उप्रेतीले जानकारी दिए ।

कोषको प्रमुख संरक्षकमा चिरञ्जीवी तथा संरक्षकमा ईश्वरादेवी उप्रेती र भवानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रहेका छन् ।
एकराज उप्रेतीको अध्यक्षतामा सदस्यहरु सुवासचन्द्र उप्रेती, कल्पना उप्रेती, डा. आयुष उप्रेती, हरि शिवाकोटी, बालकृष्ण सिटौला र सदस्य सचिव भरतकुमार थपलिया रहेको कोष व्यवस्थापन समिति रहेको छ ।

सामाजिक कार्यमा सक्रिय रहँदै आएका ८९ वर्षका चिरञ्जीवी उप्रेतीले अक्षयकोष नै स्थापना गरेर समाजमा सेवाको उदाहरणीय कार्य गरेका हुन् ।
सोही कार्यक्रमबीच चिरञ्जीवी तथा उप्रेती परिवारले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एक लाख एक हजार रुपैयाँ सहयोग गरिएको थियो । रकम महासंघका झापा अध्यक्ष एकराज गिरी र कोषाध्यक्ष रञ्जीत प्रसाईंले ग्रहण गरेका थिए ।
कार्यक्रमको सहजीकरण सञ्चारकर्मी राम निरौलाले गरेका थिए ।