बिर्तामोड, भदौ १५ । कुशल संगठक एवम् सुशासनयुक्त सेवा प्रवाहका पक्षपाती स्वर्गीय प्रमोद तामाङको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठनले स्थापना गरेको पुरस्कारबाट एकजना पत्रकार र दुईजना राष्ट्रसेवक कर्मचारी पुरस्कृत भएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था झापाले स्वर्गीय तामाङको स्मृति दिवसको अवसर पारेर पुरस्कार वितरण गरिएको हो ।
यस वर्षको स्वर्गीय प्रमोद तामाङ सुशासन पत्रकारिता पुरस्कारबाट झापा कमल–६ पत्रकार गोपाल झापालीलाई प्रदान गरियो भने उत्कृष्ट राष्ट्रसेवक पुरस्कार जिल्ला हुलाक कार्यालयका प्रमुख दामोदर घिमिरे र आन्तरिक राजश्व कार्यालय भद्रपुरका कार्यालय सहयोगी बोजप्रसाद दुलाललाई प्रदान गरियो ।
संगठनका अध्यक्ष केदार पोखरेलको अध्यक्षतामा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले स्वागत र संगठनका सचिव मनोज तिम्सिनाले सञ्चालन गरेको कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य वसन्त बानियाँ, पेशागत महासंघ नेपालका स्थायी कमिटी सदस्य देवराज कार्की, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य एवम् प्रदेश इन्चार्ज लक्ष्मीप्रसाद गुरागाईंलगायतले पुरस्कृत व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
पत्रकारिता पुरस्कारको राशी सात ७७७ रुपैयाँ रहेको छ भने उत्कृष्ट राष्ट्रसेवक पुरस्कारको राशी १० हजार १५१ रुपैयाँ रहेको छ ।