बिर्तामोड, भदौ ३० । आसन्न चुनावका लागि नेताहरु गाउँ पस्न थालिसकेका छन् । राजनीतिक दलहरुलाई चुनावी चटारोले छोपिसकेको छ । यसै मेसोमा उम्मेदवार सिफारिस पनि भइरहेको छ ।
तर, संविधानले सबै वर्ग, समुदायबाट उम्मेदवार बनाउन भने पनि दलहरुले त्यसो गर्दैन्न । नेपालका अन्य लोपोन्मुख समुदायबाट सदनमा प्रतिनिधित्व भए पनि पूर्वी नेपालमा बसोबास गर्दै आएको लेप्चा समुदायबाट हालसम्म एकजना मात्र सांसद बनेका छन् ।
योपटकको चुनावमा भने झापा बुद्धशान्ति ७ का सुमन लेप्चा समानुपातिकमा सिफारिस भएका छन् । बहुमुखी प्रतिभाका धनी लेप्चा सामाजिक कार्यमा अग्रसर छन् ।
उनी यसअघि केही समय पत्रकारितामा पनि आवद्ध थिए । जनविद्रोह पत्रिकाको इलाम जिल्ला संवाददाताको रुपमा काम गरिसकेका उनी आफ्नो समुदायको अधिकार तथा हितका लागि आवाज हुन् ।
आफ्नै लोपोन्मुख लेप्चा जातिबारे गहन रुपमा अध्ययन ,अनुसन्धान गर्दै रहेका उनले आफ्नो जातिलाई संविधानले दिएको अधिकार प्राप्त गर्न प्रेरित गर्दै “हामी लेप्चा जाति एक हौ” बोलको गीत लेखेका छन् ।
‘बालुवाको घर’ कथासंंग्रह, लेप्चा जातिको भाषा, संस्कृति, समुदायले भोगेको सत्य घटनालाई समावेश गरी उपन्यास ‘तोउथ्ची’ पनि प्रकाशनको तयारीमा रहेका छन् । राजनीति यात्रासँगै गीत, गजल, कविता, कथा लेखनमा समेत आफूलाई सशक्त रुपमा उतार्न सफल सुमनलाई केही गीतको म्युजिक भिडियोमा समेत देख्न सकिन्छ ।