२०८१ बैशाख ४ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

दसैँ टिकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा


बिर्तामोड, भदौ ३१ । यस वर्ष दसैँको टिकाको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

Adv sidebar_4

त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टिका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टिका लगाउनुपर्ने पनि समितिले जनाएको छ ।

विजयादशमीका दिन दिनभर टिका लगाउन सकिने भए पनि साइतमै टिका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

Adv sidebar_3

राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टिका, प्रसाद थाप्नुपर्ने उनले बताए । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टिका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टिका थाप्ने गरिन्छ ।

नेपालमा राष्ट्रिय चाडका रूपमा दसैँ मनाउने गरिन्छ । दसैँमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेसा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दसैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ ।

बिहान १०ः२३ बजे घटस्थापनाको शुभ साइत

यस वर्ष असोज १० गते सोमबारदेखि नवरात्रारम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान १०ः२३ बजेको साइत शुभ रहेको छ ।

असोज ११ गते झन्डा फेर्ने साइत ११ः११ बजे उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए । झन्डा फेर्दा पूर्व मोहडा गरेर फेर्नुपर्ने पनि उनले सुनाए ।

असोज १९ गते बुधबार विजयादशमी पर्व परेको छ । नेपालीको महान् पर्व बडादसैँको यो मुख्य दिन हो ।

असोज २२ गते शनिबार सबै बलिपूर्ति गर्नुपर्नेछ । असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको छ । यस दिन बेलुकी घरघरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दसैँ पर्व समापन हुन्छ ।

दसैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चंगा उडाउने गर्छन् । दसैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ । बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer