बिर्तामोड, कात्तिक २२ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग पुस २६ गतेदेखि सुरु गर्ने भएको छ ।
एन्फाले लिगको तयारी पनि सुरु गरेको छ । लिग २०८० जेठ २० गते सकिनेछ । एन्फाले ए डिभिजन लिगका सहभागी क्लबसँगको छलफल गरेर तयारी खर्चबापत गत वर्षको भन्दा १० लाख रुपैयाँ बढाउने सहमति गरेको छ ।
लिग तयारीमा ए डिभिजन क्लब प्रत्येकले ३२ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । एन्फाले यसअघि नै डबल लिगका आधारमा ए डिभिजन लिग सञ्चालनको निर्णय गरेको थियो ।
यसपटक पनि लिगको विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
हरेक खेलको म्याच मनी ५० हजार राखिएको छ भने लिगको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरले समान २ लाख रुपैयाँ पाउनेछन् ।
इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछ । लिगको सर्वोत्कृष्ट खेलाडीले ३ लाख रुपैयाँ पाउने एन्फा प्रवक्ता सुरेश शाहले जनाए । हरेक खेलको म्यान अफ द म्याचले यसअघि जस्तै १० हजार रुपैयाँ पाउनेछन् ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको बैठकमा एन्फा पदाधिकारी, सदस्य तथा सहभागी हरेक क्लबका ३ प्रतिनिधिको उपस्थिति थियो ।