बिर्तामोड, कात्तिक २६ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा १८ वर्षमुनिका बालबालिका तथा विद्यार्थीलाई प्रयोग नगर्न÷नगराउन जिल्ला बाल सञ्जाल झापाले अपिल गरेको छ ।
निर्वाचनका क्रममा कुनै पनि राजनीतिक कार्यक्रममा बालबालिका तथा विद्यार्थीको दलगत प्रयोग नगर्न नगराउन जिल्ला बाल सञ्जालले आज शनिबार लिखित अपिलमार्फत आग्रह गरेको हो ।
मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा विभिन्न राजनीतिक दलको चुनावी कार्यक्रम तथा भेलाहरुमा १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा विद्यार्थीलाई संगठित गर्ने, जुलुस तथा सभामा प्रयोग गर्ने गरेको देखिँदै आएको जनाउँदै उक्त कार्य तत्काल रोक्न सञ्जालले रानीतिक दल तथा सरोकारवाला पक्षलाई आग्रह गरेको हो ।
आज शनिबार बालबालिका तथा शिक्षा सञ्चार मञ्चको सहकार्यमा संवाद समूह झापाले ‘निर्वाचनमा बालबालिकाको प्रयोग न्यूनीकरणका लागि अपिल’ विषयक संवाद कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा सहभागी जिल्लास्थित विभिन्न पालिकाका बाल सञ्जालका प्रमुख तथा प्रतिनिधिले चुनाव प्रचार–प्रसारका ध्वनि यन्त्रहरु समेत विद्यालयहाता वरिपरि बजाइएको भन्दै आपत्ति जनाएका छन् ।
चुनावी प्रचारका सामग्रीबाट विद्यार्थीको पठनपाठन र शैक्षिक वातावरणमा प्रत्यक्ष असर परेको उनीहरुको ठहर छ । सञ्जालले निर्वाचनमा बालबालिका तथा विद्यार्थीलाई प्रयोग नगर्न र नगराउन तथा विद्यालयहाताको वरिपरि पढाईमा बाधा पुग्नेगरी चर्को ध्वनिका साथ चुनावी प्रचारप्रसार नगर्न नगराउन पनि राजनीतिक दल तथा संघसंगठनहरुमा अपिल गरेको छ ।
बालबालिका ऐन २०७५ को दफा ६६ को उपदफा २ मा कुनै पनि राजनीतिक दलहरुले राजनीतिक प्रयोजनका लागि बालबालिकालाई संगठित गर्ने वा बन्दहड्ताल, चक्काजाम गर्ने र जुलुस तथा सभाजस्ता कार्यमा प्रयोग गर्न नहुने भनी उल्लेख गरिएकोले उक्त ऐनको व्यवस्था कार्यान्वयनको लागि राजनीतिक दल तथा सरोकारवालाको सञ्जालले ध्यानाकर्षण गराएको छ ।
बालबालिका ऐनमा उल्लेख गरेविपरीत कुनै पनि राजनीतिक दल संगठन वा व्यक्ति यस्ता कार्यमा बालबालिकाको प्रयोग गरे त्यसलाई कसुरको रुपमा मानी दफा ७२ मा ७५ हजार रुपैयाँसम्म जरिवाना र ३ वर्ष कैदको व्यवस्था गरेको समेत स्मरण गराएको छ ।
कार्यक्रममा जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्र, बालबालिका तथा शिक्षा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेल, झापा गाउँपालिका बाल सञ्जालका अध्यक्ष निरञ्जन मैनाली, भद्रपुर नगर बाल सञ्जालकी अध्यक्ष भावना पोखरेल, कमल गाउँपालिका बाल सञ्जालका अध्यक्ष विनोद थापा, शैशव मञ्च नेपाल झापाका अध्यक्ष टिकाराम बास्तोला, प्रवक्ता सन्देश दाहाल, कमल बाल सञ्जालकी सचिव रञ्जना बस्नेत, जिल्ला बाल सञ्जाल सदस्य सौगात घिमिरेलगायतले जिल्लामा निर्वाचनका क्रममा देखिएका बालबालिकाको प्रयोग र न्यूनीकरणबारे आआफ्ना धारणा राखेका थिए ।