२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

ब्राजिल फुटबलको पर्याय नै हो- प्रशिक्षक कटुवाल


बिर्तामोड, मंसिर ८ । फुटबलको महाकुम्भ विश्वकप कतारमा जारी छ । जारी प्रतियोगितामा एसियाली मुलुकले उत्कृष्ट प्रदर्शन गरिररहेका छन् । विश्वकपका उपाधि दाबेदार टोलीलाई एसियाली मुलुकले हराउँदा नेपाली दर्शक पनि खुसी छन् । जारी विश्वकपको प्रदर्शन, विगत र अहिलेको विश्वकपलगायतका विषयमा केन्द्रित रहेर उमेश दाहालले फुटबलका प्रशिक्षक प्रवेश कटुवालसँग अन्नपूर्ण पोस्टका लागि गरेको कुराकानीको सम्पादित अंशः

विश्वकपको मजा कसरी लिँदै हुनुहुन्छ ?

म १९९४ देखि लगातार विश्वकपको मजा लिइरहेको छु । म अहिले झापामा छु । यहाँ हाम्रो बास्केटबल कोर्ट छ । त्यहाँ प्रोजेक्टर राखेर दुई–तीन सय दर्शक जम्मा भएर हेरिरहेका छौँ । एकदमै रमाइलो भइरहेको छ । यसपाली विश्वकपमा एसियन मुलुकहरुले एकदमै सरप्राइज नतिजा दिइरहका छन् । विश्वकपका उपाधि दाबेदार मुलुकहरुलाई हराइरहेका छन् । यसबाट एसिया पनि फुटबलमा कमजोर छैन भन्ने सन्देश गएको छ ।

कुन टिमको समर्थन गरिरहनु भएको छ ?

म सधैँ ब्राजिलको समर्थक हो । त्यसैले, यसपाली एसियामै भएकाले एउटा खेल हेर्न जाने तयारीमा छु । समूह चरणको अन्तिम खेल स्विट्जरल्यान्डसँग छ । त्यो खेल हेर्न जाने तयारीमा छु । किनभने, फुटबलमै लागेको मान्छे भएकाले फुटबलको महाकुम्भ त्यो पनि एसियामै भइरहँदा कसरी गुमाउनु भनेर जान लागेको हुँ ।

ब्राजिलको समर्थन किन ?

मैले जानेदेखि नै फुटबलको पावरहाउस र फुटबलको पर्याय नै ब्राजिल हो । जसले फुटबल खेलेर÷फुटबल बेचेरै अर्थतन्त्र परिवर्तन गरेको देश पनि हो । ब्राजिल मनपर्ने कारण त्यो पनि हो । त्यति मात्रै नभएर ब्राजिल फुटबलमा भरपुर मनोरञ्जन दिँदै खेल्ने टिम हो ।

ब्राजिलको खेल हेर्दा कहिल्यै ‘बोर’ हुनु पर्दैन । ब्राजिलियन खेलाडीहरुले देखाउने स्किल, डान्स जस्ता कुराले दर्शकलाई एकदमै मनोरञ्जन दिन्छ । युरोपेली फुटबल क्लबमा ब्राजिलियन खेलाडीको उपस्थितिले छुट्टै रोमान्च दिन्छ ।

अनपेक्षित नतिजाबारे के भन्नु हुन्छ ?

फुटबलमा यस्तो हुनेगर्छ । विशेषगरी विश्वकप चार वर्षमा एकचोटि आउँछ, सबैको महत्वकांक्षी प्रतियोगिता हो विश्वकप । त्यहाँ मात्रै होइन, घरेलु लिगहरूमा पनि रेलिगेसनमा संघर्ष गरिरहेका टिमहरूले पनि लिग लिडरलाई पराजित गरिरहेका हुन्छन् ।

आयोजकको रुपमा पहिलोपटक कतार हारेको थियो । इरानले पनि इङ्ल्यान्डसँग ६ गोल खाइसकेपछि एसियाली फुटबल स्तरमाथि नै प्रश्न उठिरहेको थियो । तर, हिजो साउदी अरबले अर्जेन्टिनालाई हराएपछि हामी पनि धेरै पछाडि छैनौँ भन्ने सन्देश गएको छ । त्यसमा पनि आज जर्मनीलाई जापानले हराउँदा झन् राम्रो भयो र एसियाली फुटबलको मेहेनत पनि देखिएको छ ।

पहिलो विश्वकप र अहिले के फरक पाउनु हुन्छ ?

धेरै अर्थमा यो विश्वकप फरक छ । पहिलो पटक जाडोयाममा हुँदैछ । अर्को कतारमा हुँदैछ । जसले एउटा विश्व पनि खेलेको थिएन । उसले आयोजना गरेर आयोजकको रुपमा खेलिरहेको छ । क्षेत्रफलको हिसाबले लगभग झापा जिल्ला जत्रो देशले विश्वकप आयोजना गरेर विश्वभरका मानिसलाई राम्रो आतिथ्यता दिइरहेको छ ।

नेपाल जस्तो देशलाई कतारमा विश्वकप हुनु भनेको प्रत्यक्ष रंगशालामा गएर हेर्ने ठुलो मौका पनि सिर्जना गरिदिनु हो । कतारमा रोजगारीको शिलशिलामा धेरै नेपाली बसोबास गर्छन् । उनीहरूले हेर्ने मौका पाएका छन्, र हेरिरहेका पनि छन् । मैले चिनेका साथीभाइहरू पनि गएका छन् ।

नेपालबाटै जान चाहनेका लागि पनि अन्य युरोप–अमेरिकामा हुने विश्वकपभन्दा आर्थिक हिसाबले सजिलो छ । त्यसैले, पहुँचको हिसाबमा पनि यो विश्वकप फरक छ ।

कुन टिमले चाहिँ विश्वकप जित्छ जस्तो लाग्छ ?

ब्राजिलले खेल्नै बाँकी छ । ब्राजिल जहिले विश्वकप खेल्छ, सधैँ दाबेदार हुन्छ । त्यसैले, पहिलो नम्बर म ब्राजिललाई नै दिन्छु । दोस्रो नम्बरमा मैले इङ्ल्यान्ड देखेको छु । इरानविरुद्ध ६–२ को जित मात्र नभएर टिम, खेलाडी र बेन्चमा भएका खेलाडी पनि राम्रा छन्, त्यसैले दोस्रो स्थान इङ्ल्यान्डलाई ।

नेपालमा पहिलाको विश्वकपको माहोल र अहिलेमा के फरक छ ?

विगतको तुलनामा त्यस्तो रौनक देखिएको छैन । एउटाचाहिँ जाडोयाममा भएर जर्सी लगाएर हिँड्न सकिने अवस्था छैन । त्यसैले, अलिअलि कम हो कि माहोल जस्तो लाग्छ । अर्को भर्खरै नेपालमा चुनाव भएको छ । त्यसैले, पनि रौनक कम देखिएको हो ।

तर, अब चुनावी माहोल सेलाउँदै गएपछि विश्वकपको रौनक थप बढ्छ । हामी जर्सी पसलतिर जाँदा पनि राम्रो व्यापार भएको र माग दिनहुँ बढेको बताउँछन् । त्यसैले, विश्वकप समूह चरणबाट नकआउटतिर बढ्दा यसको माहोल अझै भव्य हुने विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer