२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

हल्दिबारी नमुना माविमा स्वर्ण महोत्सवको तयारी


बिर्तामोड, मंसिर २९ । झापाको हल्दिबारी गाउँपालिका–२ स्थित हल्दिबारी नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी गरेको छ ।

पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा साताव्यापी महोत्सव आयोजना गरिने आज आयोजित पत्रकार भेटघाटमा बताइएको हो ।

विद्यालयका प्रधानाध्यापक टंकबहादुर पाख्रिनका अनुसार २०२९ साल पुस १ गते हल्दिबारी निम्न माध्यमिक विद्यालयका नाममा स्थापित विद्यालयको स्वर्ण महोत्सव मनाउन ९९ सदस्यीय मुल समारोह समितिअन्तर्गत विभिन्न १९ वटा उपसमिति गठन गरिएका छन् ।

महोत्सवको कुल बजेट २४ लाख रुपैयाँ अनुमान गरिएकोमा सो विद्यालयका भूतपूर्व विद्यार्थी नरेन्द्र फागो सम्मिलित १० सदस्यीय अर्को समितिले आर्थिक रूपमा गरेको सहयोगका साथै घर–दैलो समेतबाट हालसम्म २० लाख रुपैयाँ संकलन भइसकेको, हल्दिबारी गाउँपालिकाले ३ लाख र २ नम्बर वडा कार्यालयले १ लाख रुपैयाँ प्रदान गरेको प्रधानाध्यापक पाख्रिनले जानकारी दिए ।

महोत्सवअन्तर्गत सांस्कृतिक कार्यक्रम, सम्मान, स्मारिका विमोचन, पुरस्कार वितरण र विद्यालय परिसरमा नवनिर्मित जग्गादाता माझीलाल राजवंशीको प्रतिमा तथा स्वर्ण महोत्सव स्तम्भ अनावरण कार्यक्रम रहेको छ ।

प्रदेश– १ का सामाजिक विकासमन्त्री राजन राईको प्रमुख आतिथ्यमा हुने महोत्सवको पहिलो दिनको उद्घाटन सत्रमा सो विद्यालयका संस्थापक प्रधानाध्यापक नरेन्द्र कार्की र जग्गादाताकी धर्मपत्नी सरला राजवंशीलगायतलाई अभिनन्दनका साथै ५० हजार रुपैयाँभन्दा बढी प्रदान गर्ने दाताहरूलाई सम्मान तथा गायिका मेलिना राईको मनोरञ्जनात्मक कार्यक्रम रहनेछ ।

त्यसैगरी, दोस्रो दिन सोही विद्यालयका पूर्वविद्यार्थी डा. समिर पौडेलद्वारा मुटु रोगसम्बन्धी स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरणका साथै रक्तदान कार्यक्रम; तेस्रो दिन अन्तर–सदनात्मक खेलकुद प्रतियोगिता हुनेछ भने चौथो दिन अन्तर मावि हाजिरी–जवाफ प्रतियोगिता र ५ हजार रुपैयाँसम्म प्रदान गर्ने दातालाई सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

साथै, पाँचौँ दिन अन्तर मावि. नृत्य प्रतियोगिता र ५ हजार १ देखि १० हजार रुपैयाँसम्मका दातालाई सम्मान, छैठौँ दिन अभिभावकवर्गको खेलकुद र १० हजार १ देखि २५ हजार रुपैयाँसम्मका दातालाई सम्मान र समापनका दिन ७ गते पूर्व प्रधानाध्यापकहरु, पूर्वअभिभावक, व्यवस्थापन समितिका पूर्वअध्यक्ष लगायतलाई सम्मानका साथै जेहेन्दार विद्यार्थीलाई ५ हजार रुपैयाँ प्रदान गरेर प्रोत्साहन गरिने र बृहत् सांस्कृतिक उत्सव हुने विद्यालय व्यस्थापन समितिका अध्यक्ष कुमार राईले जानकारी दिए ।

कक्षा– १ देखि १२ सम्म नेपाली र अंग्रेजी दुबै माध्यमबाट पढाइ हुने हल्दिबारी माध्यमिक विद्यालयमा हाल १३२० जना विद्यार्थी अध्ययनरत छन् भने शिक्षक एवम् कर्मचारीसमेत गरी ५३ जना सेवारत रहेको अध्यक्ष राईले बताए । विद्यालयमा प्राविधिक शिक्षाको बाली विज्ञान विषय पनि पढाइ भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer