बिर्तामोड, माघ २ । नेपाल मगर संघ अर्जुनधारा १ वडा इकाई समितिले संघीय सांसद इन्दिरा राना मगरलाई सम्मान गरेको छ ।
सांसद मगर नेपाल स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सांसद हुन् । स्थानीय मगर बौद्ध बिहार गुम्बाको प्राङ्गणमा आयोजित माघे संक्रान्तिको शुभकामना आदानप्रदानका क्रममा उनलाई सम्मान गरिएको थियो ।
समितिकी अध्यक्ष कुमारी बुर्जा मगरको अध्यक्षतामा आयोजित कार्यक्रमको उनी प्रमुख अतिथि थिइन् । संघ झापाका पूर्वअध्यक्ष जगत राना मगरले माघे संक्रान्तिको औचित्यबारे जानकारी गराएको कार्यक्रममा प्रमुख अतिथि मगरसहित आठजनालाई सम्मान गरिएको थियो ।
गुम्बाको अवस्था र विकासको लागि समितिको तर्फबाट प्रमुख अतिथि मगरलाई ज्ञापनपत्रसमेत बुझाइएको थियो । अन्य सम्मानित हुनेहरुमा अर्जुनधारा १ वडा समितिका वडाध्यक्ष उपेन्द्र बस्नेत, सदस्यहरु इन्द्रकुमारी विश्वकर्मा, दिनेशकुमार घिमिरे, मदनकुमार लिमेल मगर र मुना खत्री, अर्जुनधारा ८ वडा समितिका सदस्य मनोजकुमार थापा मगर र जग्गादाता रेणुका बुर्जा मगर रहेका छन् ।
स्थानीय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रममा वडाध्यक्ष बस्नेत, वडा सदस्य मदनकुमार लिमेल मगर, गणेश आधारभूत विद्यालयका शिक्षक डिल्लीप्रसाद सुवेदी, स्थानीय अगुवा योगप्रसाद भट्टराईलगायतले मन्तव्य राखेका थिए ।
समितिकी सदस्य कमला खपाङ्गी मगरले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन मगर संघ झापाका पूर्व सदस्य सन्तबहादुर मगरले गरेका थिए ।