बिर्तामोड, माघ ८ । झापाको शिवसताक्षीमा ‘वाटर किंग्डम पार्क संस्कृति उत्थान महोत्सव २०७९’ आयोजना हुने भएको छ ।
नगरको वडा नम्बर ८ स्थित वाटर किंग्डम पार्क एन्ड रिसोर्ट प्रालिले महोत्सव आयोजना गर्ने भएको हो । यही फागुन १ देखि ५ गतेसम्म आयोना हुने उक्त महोत्वस झापामा पृथक हुने आयोजकको अनुमान छ ।
आदिवासी जनजातिको परम्परागत तथा मौलिक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिने आइतबार पार्कमा आयोजित पत्रकार सम्मेलनमा सञ्चालक राजकुमार संग्रौलाले बताए । उनले भने, ‘कम्तिमा एक लाख आन्तरिक तथा बाह्य पर्यटकले महोत्सवको अवलोकन गर्नेछन् ।’
विभिन्न जातजातिका मौलिक संस्कृति, भेषभूषा, कला, भाषा र लिपिलाई जगेर्ना गर्दै भावी पुस्तालाई सुशिक्षित गराई सांस्कृतिक मूल्य मान्यतालाई जीवन्त बनाउन महोत्सवको आयोजना गरिएको पार्क सञ्चालक संग्रौलाले बताए ।
उनले महोत्सवमा प्रत्येक दिन अलगअलग समुदायका मौलिक परिकारहरुको फुड स्टल, बाजागाजा, हातहतियार, पोशाक, लिपिहरुको प्रदर्शनी गरिने बताए । महोत्सव अवधिभर पार्कले सर्वसाधरणकालागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ ।
उनले महोत्सवको अन्तिम दिन पूर्वमै पहिलोपटक नेपालको चर्चित सांगीतिक समूह १९७४ एडीको सांगीतिक कार्यक्रम रहने जानकारी दिए । सो कार्यक्रम हेर्नका लागि भने प्रवेश शुल्क तोकिएको उनको भनाइ छ ।
पार्क २०७७ सालबाट सञ्चालनमा आएको हो । संग्रौलाको करिब ५७ करोड रुपैयाँको एकल लगानीमा पार्क सञ्चालन भइरहेको छ । पार्कमा एक वर्षमा एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका छन् ।
उनले युवालाई समयसापेक्ष व्यावसायिक सीप माध्यमबाट स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले आगामी बैशाखदेखि कुकिङ, कलिनरी आर्ट, बेकरी, बारिस्टालगायतका सिटिइभिटीबाट मान्यताप्राप्त व्यवासायिक कोर्सको समेत सञ्चालनको तयारी रहेको जानकारी दिए ।
पार्कमा मुख्य आषर्कणको रुपमा रहेको जीप लाइन राइडिङ, जीप साइक्लिङसहित स्विमिङ पुल, बेभपुल, सावर डान्स, वाटर स्लाइड, किड पुलमार्फत पर्यटकलाई मनोरञ्जन दिने गरिएको उनको भनाइ छ । प्रदेश नम्बर १ मै पहिलोपटक सञ्चालनमा आएको यस वाटर पार्कभित्रै सुविधासम्पन्न होटल, लज, रेस्टुरेन्ट, पार्टी प्यालेससमेत सञ्चालनमा छ ।
महोत्सव अवधिभर बिएन्डसी अस्पतालको विशेषज्ञ टोलीले निःशुल्क स्वास्थ्य शिविर साथै क्यान्सर सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने पार्ककी सञ्चालक मेनुका संग्रौलाले बताएकी छन् ।