बिर्तामोड, माघ १० । लाल भागिरथा बानियाँ प्रतिष्ठानले यो वर्ष प्रदान गरिने तीनै विधाका प्रतिभाको नाम सार्वजनिक गरेको छ ।
प्रतिष्ठानले धुलाबारीमा पत्रकार सम्मेलनमार्फत सम्मानित हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेका हो ।
प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँका अनुसार स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी अर्पण शर्मा, मेचीनगर–१२ निवासी कृषि क्षेत्रका प्रेरक व्यक्तित्व मञ्जुल मेचे र मेचीनगर–११ कै असल गृहिणी दुर्गादेवी काफ्लेलाई पुरस्कृत गरिने भएको हो ।
सामाजिक क्षेत्रका प्रेरक व्यक्तिहरुलाई कदर गर्न प्रतिष्ठानले विगत चार वर्षदेखि यस्तो सम्मान दिँदै आएको छ । सबै पुरस्कारको नगद राशी ३१ हजार रुपैयाँ रहेको छ ।
प्रतिष्ठानले तीनैजना प्रतिभालाई यही माघ १७ गते एक समारोहबीच पुरस्कृत गर्ने उपाध्यक्ष मनोज बानियाँले जानकारी दिए । प्रतिभाहरुहरुलाई कदरपत्र समेत प्रदान गरिनेछ ।
पुरस्कार छनोटका लागि पाँच सदस्यीय प्रतिभा छनोट समिति गठन गरिएको र सोही समितिको निर्णयका आधारका पुरस्कार दिने निर्णय गरिएको बानियाँले बताए ।
पुरस्कारका लागि प्रतिष्ठानको नाममा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।