बिर्तामोड, माघ १७ । बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरविरुद्ध आमरण अनशनरत बिर्तामोडका युवा माधव झाले आज अनशन तोडेका छन् ।
बिर्तामोडको मुक्तिचोकमा अनशनरत २२ वर्षीय झालाई आज बिहान झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जुस खुवाउदै अनशन तोडाएका हुन् ।
झाको अवस्थाबारे पोखरेलले हिजो जानकारी लिएका थिए । इलामका प्रेम आचार्यले आत्मदाह गरेपछि झाले बैंक तथा बित्तीय संस्थाको ज्यादती विरुद्ध आमरण अनशन बसेका थिए ।
उनको माग नेपाल सरकारलाई पठाउने र समाधानका लागि पोखरेलले समन्वय गर्ने सहमतिपछि झाले अनशन स्थगित गरेका हुन् ।
झाले तीन बुँदे ज्ञापनपत्र पोखरेललाई बुझाएका छन् । उक्त पत्र आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइने पोखरेलले जानकारी दिए ।
यसैबीच, बिर्तामोडका सामाजिक संघसंस्थाहरुले आज बिर्तामोडमा झाको समर्थनमा मौन र्याली निकालेका थिए । र्यालीलाई चाहना समूह, पूर्वेली युवा क्लब, माडवारी युवा सेवा समिति, युनाइटेड युवा क्लब , रिकोभरी बिर्तामोड, बिटिएम रक्सको साथ रहेको थियो ।
इलामका प्रेमप्रसाद आचार्यले संसद भवनअगाडि आत्मदाह गरेको भोलिपल्टबाट झा आमरण अनसनमा बसेका थिए ।