बिर्तामोड, माघ १८ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टको
फाइनल भिडन्त धुलाबारी र दमक लखनपुरबीच हुने भएको छ ।
बिहीबार उपाधिका लागि हुने खेलमा दुवै टिमले कडा प्रतिस्पर्धा गर्ने जनाएका छन् ।
धुलाबारी भेट्रान्स फुटबल क्लबले धरमपुर भेट्रान्स फुटबल क्लबलाई ४—१ गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो ।
त्यस्तै, दमक लखनपुर भेट्रान्स फुटबल क्लबले चन्द्रगढी भेट्रान्स फुटबल क्लबलाई टाइब्रेकरमा हराएर अन्तिम दुईमा स्थान पक्का गरेको हो ।
आयोजक बिर्तामोड भेट्रान्स फुटबल क्लबका अध्यक्ष किरण थापाका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा १० टिमको सहभागिता रहको थियो । त्यस्तै, योपटक प्रतियोगिताको टाइटल स्पोन्सरमा फास्ट ट्र्याक द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी रहेको थापाले बताए ।
प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५१ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष झलकसिंह राजवंशीले बताए ।
प्रतियोगिताभरिको उत्कृष्ट किप्पर, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले नगद दुई हजार १०० पाउने उपाध्यक्ष गणेश सुब्बाले बताए ।