बिर्तामोड, माघ १९ । प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका पाँचजना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ ।
प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन गर्ने भएको हो । त्यस्तै, जिल्लाका अग्रज पत्रकार नकुल काजी, माधव विद्रोही, गोविन्दचन्द्र क्षेत्री र केशव आचार्यलाई सम्मान गर्नेे निर्णय गरेको छ ।
त्यस्तै, स्वर्गीय माया पकुवाललाई मरणोपरान्त सम्मान गर्ने प्रेस चौतारी नेपाल झापाको बिहीबार बसेको जिल्ला कमिटिको बैठकले निर्णय गरेको हो ।
प्रेस चौतारी नेपाल झापाका इन्चार्ज सन्तोष आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्य एवम प्रदेश १ का सहइन्चार्ज अम्बिका भण्डारी र प्रेस चैतारी झापाका पूर्वअध्यक्ष गोपाल काफ्ले सदस्य रहेको छनोट समितिले सिफारिस गरेको सम्मानित हुने अग्रज पत्रकारहरुको नामावलीलाई बैठकले अनुमोदन गरेको हो ।
छनोट समितिले तयार पारेको मापदण्डका आधारमा अभिनन्दित व्यक्ति र अग्रज पत्रकार छनोट गरिएको चौतारी झापाका अध्यक्ष मनकुमार गदालले जानकारी दिए ।
छनोट भएका व्यक्तिहरुलाई प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा माघ २१ गते शनिबार अभिनन्दन र सम्मान गरिनेछ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने विशेष समारोह बिर्तामोडस्थित हेवन वाटर पार्कमा आयोजना हुने छ ।